< भजनसंग्रह 74 >

1 हे परमेश्‍वर, तपाईंले हामीलाई किन सदाको निम्ति इन्कार गर्नुभएको छ? तपाईंको क्रोध किन तपाईंका खर्कका भेडाहरूका विरुद्धमा दन्किन्छ? 2 आफ्ना मानिसहरू जसलाई तपाईंले प्राचीन समयमा किन्‍नुभयो, तपाईंको आफ्नै उत्तराधिकार हुनलाई उद्धार गर्नुभएका कुलहरू र तपाईं वास गर्नुहुने सियोन पर्वतलाई सम्झनुहोस् । 3 आउनुहोस्, शत्रुले पवित्रस्थानमा गरेका सम्‍पूर्ण भग्‍नावशेष, सारा सर्वनाशलाई हेर्नुहोस् । 4 तपाईंको तोकिएको ठाउँको बिचमा तपाईंका वैरीहरू गर्जन्छन् । तिनीहरूले आफ्ना युद्धका झन्डाहरू खडा गर्छन् । 5 बञ्‍चरोले घना जङ्गल काटेझैं तिनीहरूले काटेर लगे । 6 तिनीहरूले बट्टाहरूलाई फुटाएका छन् र टुक्र-टुक्रा पारेका छन् । तिनीहरूले बन्‍चरो र घनहरूले फुटाए । 7 तपाईंको पवित्रस्थान तिनीहरूले आगोले जलाए । तपाईं वास गर्नुहुने ठाउँलाई तिनीहरूले भूइँमा ढालेर अपवित्र पारे । 8 तिनीहरूले आफ्ना हृदयहरूमा भने, “तिनीहरू सबैलाई हामी नाश गर्नेछौं ।” देशमा भएका तपाईंको आराधना हुने ठाउँहरू सबै तिनीहरूले जलाए । 9 हामी अब कुनै चिन्हहरू देख्दैनौं । अब कोही अगमवक्‍ता छैनन् र यो कहिलेसम्म रहन्छ भनी हाम्रा बिचमा हुने कसैले पनि जान्‍दैन । 10 हे परमेश्‍वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन्? 11 आफ्‍नो बाहुली, तपाईंको दाहिने हात तपाईंले किन रोक्‍नुहुन्छ? आफ्‍नो दाहिने हात आफ्नो खल्‍तीबाट झिक्‍नुहोस् र तिनीहरूलाई नाश पार्नुहोस् । 12 तापनि पृथ्वीमा उद्धार ल्याउनुभएर परमेश्‍वर प्राचीन समयदेखि नै मेरो राजा हुनुभएको छ । 13 तपाईंले समुद्रलाई आफ्नो शक्तिले विभाजन गर्नुभयो । तपाईंले समुद्री भयानक जन्‍तुहरूका शिरहरू तोड्नुभयो । 14 तपाईंले लिव्यातन्‌को शिर कुच्‍याउनुभयो । तपाईंले त्यसलाई उजास्‍थानमा बस्‍नेहरूलाई खुवाउनुभयो । 15 तपाईंले मूलहरू र खोलाहरूका मुहान खोल्‍नुभयो । तपाईंले बगिरहेका नदीहरूलाई सुकाउनुभयो । 16 दिन तपाईंको हो र रात पनि तपाईंकै हो । तपाईंले सूर्य र चनद्रमालाई आफ्नो ठाउँमा राख्‍नुभयो । 17 तपाईंले पृथ्वीको सबै सिमाना तोक्‍नुभएको छ । तपाईंले हिउँद र ग्रीष्म बनाउनुभएको छ । 18 हे परमप्रभु, शत्रुहरूले तपाईंलाई कसरी अपमान गरे सो सम्झनुहोस् । अनि मूर्ख मानिसहरूले तपाईंको नाउँको निन्दा गरेका छन् । 19 तपाईंको ढुकुरको जीवन जङ्गली पशुलाई नदिनुहोस् । थिचोमिचोमा परेका तपाईंका मानिसहरूका जीवन सधैं नबिर्सनुहोस् । 20 आफ्नो करार सम्झनुहोस्, किनकि देशका अन्धकार क्षेत्रहरू हिंसाले भरिएको ठाउँहरू हुन् । 21 थिचोमिचोमा परेकाहरू लाजमा परेर फर्किने नतुल्‍याउनुहोस् । गरीब र थिचोमिचोमा परेकाहरूले तपाईंको नाउँको स्तुति गरून् । 22 हे परमेश्‍वर, उठ्नुहोस् । तपाईंको आफ्नो इज्‍जतको रक्षा गर्नुहोस् । मूर्खहरूले दिनभरि कसरी तपाईंको अपमान गर्छन् सम्झनुहोस् । 23 तपाईंका वैरीहरूका आवाजहरू वा तपाईंलाई निरन्‍तर अनादर गर्नेहरूका कोलाहल नबिर्सनुहोस् ।

< भजनसंग्रह 74 >