< भजनसंग्रह 2 >

1 जातिहरूले किन कोलाहल मच्‍चाउँछन् र मानिसहरूले किन असफल हुने षड्यान्त्र रच्छन्? 2 पृथ्वीका राजाहरू एकसाथ मिलेर साँठगाँठ गर्छन् अनि परमप्रभु र उहाँको अभिषिक्‍त जनको विरुद्धमा शासकहरू यसो भनेर षड्यान्त्र रच्‍छन्, 3 “तिनीहरूले हामीलाई लगाएका हतकडीहरू हामी तोडौं र तिनीहरूका साङ्लाहरू फालौं ।” 4 स्वर्गमा विराजमान हुनुहुनेचाहिं तिनीहरूलाई उपहास गर्नुहुन्छ । परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुन्छ । 5 तब उहाँ तिनीहरूसँग आफ्नो रिसमा बोल्नुहुन्छ र तिनीहरूलाई आफ्नो क्रोधमा यसो भनेर त्रसित पार्नुहुन्छ, 6 “मेरो पवित्र पर्वत सियोनमा म आफैंले मेरो राजालाई अभिषेक गरेको छु ।” 7 परमप्रभुको एउटा आदेश म घोषणा गर्नेछु । उहाँले मलाई भन्‍नुभयो, “तिमी मेरो पुत्र हौ! आजको दिन म तिम्रो पिता भएको छु । 8 मसँग माग र तिम्रो उत्तराधिाकरको रूपमा म तिमीलाई जातिहरू दिनेछु र पृथ्वीका टाढाका क्षेत्रहरू तिम्रो सम्पत्तिको रूपमा दिनेछु । 9 तिमीले तिनीहरूलाई फलामे डन्डाले तोड्नेछौ । कुमाले भाँडोझैं तिमीले तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ ।” 10 त्यसैले ए राजाहरू हो, सावधान होओ । ए पृथ्वीका शासकहरू हो, आफूलाई सच्याओ । 11 भयसाथ परमप्रभुको आराधना गर र कम्पनसाथ आनन्दित होओ । 12 पुत्रलाई चुम्बन गर नत्र तिमीहरूसँग उहाँ रिसाउनुहुनेछ र उहाँको क्रोध एक क्षणको निम्ति दन्किंदा तिमीहरू बाटैमा मर्नेछौ । उहाँमा शरण लिने सबै जना कति धन्य हुन् ।

< भजनसंग्रह 2 >