< नहेम्याह 9 >

1 अब उही महिनाको चौबिसौँ दिनमा इस्राएलीहरू भेला भए । तिनीहरू उपवास बस्दै र भाङ्ग्रा लगाउँदै थिए, र तिनीहरूले आ-आफ्ना शिरमा धूलो हाले । 2 इस्राएलका सन्तानहरूले सबै परदेशीबाट आफूलाई अलग गरे । तिनीहरू खडा भएर आफ्ना पापसाथै तिनीहरूका पुर्खाहरूका दुष्‍ट कामहरू स्वीकार गरे । 3 तिनीहरू आ-आफ्ना ठाउँमा खडा भए, र पहिलो एक पहरचाहिँ तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढे । अर्को पहरमा तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको सामु पाप स्वीकार गर्दै र दण्डवत् गर्दै थिए । 4 लेवीहरू, येशूअ, बानी, कादमीएल, शबन्याह, बुन्‍नी, शरेबियाह, बानी र कनानी खुट्किलाहरूका उभिए, अनि तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरलाई उच्‍च सोरमा पुकारे । 5 तब लेवीहरू, येशूअ, कादमीएल, बानी, हशबन्याह, शरेबियाह, होदियाह, शबन्याह र पतहियाहले भने, “खडा भएर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सदासर्वदा प्रशंसा चढाओ ।” तिनीहरूले तपाईंको महिमित नाउँलाई धन्यको भनून्, र यो नाउँ हरेक आशिष् र प्रशंसाभन्दा माथि उचालिएको होस् । 6 तपाईं मात्र परमप्रभु हुनुहुन्छ । तपाईंले स्वर्ग, सर्वोच्‍च आकाश, त्यहाँका सबै आकाशीय पिण्ड अनि पृथ्वी र यसमा भएका थोक थोक, समुद्रहरू र तिनमा भएका सबै थोक बनाउनुभयो । तपाईंले नै ती सबैलाई जीवन दिनुहुन्छ, र स्वर्गका समुदायले तपाईंको आराधना गर्छन् । 7 तपाईं परमप्रभु परमेश्‍वर हुनुहुन्छ जसले अब्रामलाई चुन्‍नुभयो, र तिनलाई कल्दीहरूको ऊरबाट ल्याउनुभयो, र तिनलाई अब्राहाम नाउँ दिनुभयो । 8 तपाईंले तिनको हृदय तपाईंको सामु विश्‍वासयोग्य भएको भेट्टाउनुभयो, र तिनका सन्तानहरूलाई कनानी, हित्ती, एमोरी, परिज्‍जी, यबूसी र गिर्गाशीहरूको देश दिने प्रतिज्ञा गर्नुभयो । तपाईंले आफ्नो प्रतिज्ञा पुरा गर्नुभएको छ किनकि तपाईं धर्मी हुनुहुन्छ । 9 तपाईंले मिश्रमा हाम्रा पिता-पुर्खाहरूको दुःख देख्‍नुभयो, र लाल समुद्रनेर तिनीहरूको क्रन्दन सुन्‍नुभयो । 10 तपाईंले फारो, तिनका सबै अधिकारी र तिनको देशका सबै जनताको सामु चिन्हहरू र आश्‍चर्यहरू गर्नुभयो किनकि मिश्रीहरूले इस्राएलीहरूको विरुद्धमा अहङ्कारी भएर व्यवहार गरेका थिए भनी तपाईं जान्‍नुहुन्थ्यो । तपाईंले आफ्नो निम्ति एउटा नाउँ राख्‍नुभयो जुन आजको दिनसम्म खडा छ । 11 त्यसपछि तपाईंले तिनीहरूकै सामु समुद्रलाई विभाजन गरिदिनुभयो अनि तिनीहरू समुद्रको बिचमा सुक्खा भूमिबाट हिँडेर गए, र तिनीहरूलाई खेद्‍नेहरूलाई तपाईंले उर्लंदो पानी ढुङ्गा फालेझैँ फालिदिनुभयो । 12 तिनीहरूलाई बाटोमा यात्राको लागि प्रकाश दिन तपाईंले तिनीहरूलाई दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोद्वारा अगुवाइ गर्नुभयो । 13 तपाईं स्वर्गबाट सीनै पर्वतमा ओर्लनुभयो, र तिनीहरूसित बोल्नुभयो अनि तिनीहरूलाई धार्मिक नियमहरू, साँचो व्यवस्था र असल विधिविधानसाथै आज्ञाहरू दिनुभयो । 14 तपाईंले तिनीहरूलाई आफ्नो पवित्र शबाथ चिनाउनुभयो, अनि तपाईंका दास मोशाद्वारा तिनीहरूलाई आज्ञाहरू, विधिविधानहरू र व्यवस्था दिनुभयो । 15 तपाईंले तिनीहरूलाई तिनीहरूको भोक तृप्‍त पार्न स्वर्गबाट रोटी दिनुभयो, र तिनीहरूको तिर्खा मेट्न चट्टानबाट पानी दिनुभयो । तिनीहरूलाई दिन्छु भनी तपाईंले प्रतिज्ञा गर्नुभएको देशमा गएर अधिकार गर्न तिनीहरूलाई आज्ञा दिनुभयो । 16 तर तिनीहरू र हाम्रा पिता-पुर्खाहरू अटेरी र हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । 17 तिनीहरूले सुन्‍न इन्कार गरे, र तपाईंले तिनीहरूका बिचमा गर्नुभएका आश्‍चर्यहरूलाई तिनीहरूले विचारै गरेनन् । तर तिनीहरू हठी भए, र तिनीहरूको विद्रोहमा तिनीहरूले आफ्नो दासत्वमा फर्कन एक जना अगुवा नियुक्त गरे । तर तपाईं क्षमाले भरिपूर्ण, अनुग्रही, दयालु, रिसाउनमा ढिला, अचुक प्रेममा प्रचुर परमेश्‍वर हुनुहुन्छ । तपाईंले तिनीहरूलाई त्याग्‍नुभएन । 18 तिनीहरूले ढलौटे बाछा बनाएर 'तिमीहरूलाई मिश्रबाट ल्याउने ईश्‍वर यही हो' भनी तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गर्दा पनि 19 तपाईंले आफ्नो दयामा तिनीहरूलाई उजाड-स्थानमा त्याग्‍नुभएन । तिनीहरूलाई बाटोमा अगुवाइ गर्ने बादलको खाँबोले दिनमा तिनीहरूलाई छोडेन, न त तिनीहरूको यात्राको लागि प्रकाश दिने आगोको खाँबोले रातमा तिनीहरूलाई छोडे । 20 तिनीहरूलाई निर्देशन दिन तपाईंले तिनीहरूलाई आफ्नो असल आत्मा दिनुभयो, र तिनीहरूका मुखमा तपाईंले आफ्नो मन्‍न दिन रोक्‍नुभएन, र तिनीहरूको तिर्खा मेट्न तपाईंले तिनीहरूलाई पानी दिनुभयो । 21 चालिस वर्षसम्म उजाड-स्थानमा तपाईंले तिनीहरूलाई भोजन उपलब्ध गराउनुभयो, र तिनीहरूलाई कुनै थोकको कमी भएन । तिनीहरूका लुगा फाटिएनन्, र तिनीहरूका गोडा सुनिएनन् । 22 तपाईंले तिनीहरूलाई राज्यहरू र जातिहरू दिनुभयो, अनि देशका हरेक कुनामा पुर्‍याउनुभयो । तब तिनीहरूले हेश्बोनका राजा सीहोन र बाशानका राजा ओगको देश अधिकार गरे । 23 तपाईंले तिनीहरूका सन्तानहरूलाई आकाशका ताराजत्तिकै अनगिन्ती बनाउनुभयो, र तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई अधिकार गर्न दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा तिनीहरूलाई ल्याउनुभयो । 24 त्यसैले मानिसहरू देशभित्र प्रवेश गरी यसको अधिकार गरे, र तिनीहरूकै सामु त्यस देशका बासिन्दाहरू अर्थात् कनानीहरूलाई तपाईंले अधीनमा ल्याउनुभयो । इस्राएलले इच्छा लागेअनुसार कनानीहरूलाई व्यवहार गरून् भनेर तपाईंले कनानीहरू, तिनीहरूका राजाहरू, देशका जनताहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो । 25 तिनीहरूले किल्लाबन्दी गरिएका सहरहरू र उर्बरायुक्त देश कब्जा गरे । तिनीहरूले सबै असल थोकहरूले भरिएका घरहरू, पहिले नै खनेका कुवाहरू, दाखबारीहरू, जैतूनका बगैँचाहरू र प्रचुर मात्रामा फल दिने रुखहरू कब्जा गरे । यसरी तिनीहरूले खाएर तृप्‍त भए, अनि मोटाएर तपाईंको महान् भलाइमा तिनीहरूले आनन्द मनाए । 26 तब तिनीहरू अनाज्ञाकारी बने, र तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरे । तिनीहरूले तपाईंको व्यवस्थालाई पिठिउँ फर्काए । तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईंकहाँ फर्कन चेताउनी दिएका थिए । तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गरे । 27 त्यसैले तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो जसले तिनीहरूलाई सताए । तिनीहरूको दुःखकष्‍टको समयमा तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले स्वर्गबाट तिनीहरूको कुरा सुन्‍नुभयो । तपाईंको महान् कृपाको कारण तपाईंले छुटकारा दिनेहरू पठाउनुभयो जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटकारा दिए । 28 तर तिनीहरूले शान्ति पाएपछि तिनीहरूले फेरि तपाईंको सामु दुष्‍ट काम गरे, र तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा त्यागिदिनुभयो, अनि तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि शासन गरे । तथापि तिनीहरू फर्केर तपाईंलाई पुकारा गर्दा तपाईंले स्वर्गबाट सुन्‍नुभयो, र तपाईंको कृपाको कारण धेरै पटक तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो । 29 तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । आज्ञा पालन गर्ने जोसुकैलाई जीवन दिने तपाईंका आज्ञाहरूको विरुद्धमा तिनीहरूले पाप गरे । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्‍न इन्का गरे । 30 धेरै वर्षसम्म तपाईं तिनीहरूसित धैर्यवान् हुनुभयो, र आफ्ना अगमवक्ताहरूमार्फत तपाईंको आत्माद्वारा तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरूले सुनेनन् । त्यसैले तपाईंले तिनीहरूलाई छिमेकी जातिहरूका हातमा सुम्पिदिनुभयो । 31 तर तपाईंको महान् कृपामा तिनीहरूलाई निमिट्ट्यान्‍न पार्नुभएन, न त पूर्ण रूपमा त्यागिदिनुभयो किनकि तपाईं अनुग्रही र करुणामय परमेश्‍वर हुनुहुन्छ । 32 त्यसकारण, अब हे हाम्रा परमेश्‍वर तपाईं महान्, शक्तिशाली र भययोग्य परमेश्‍वर हुनुहुन्छ, जसले आफ्नो करार र अचुक प्रेम राख्‍नुहुन्छ । अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म हामी, हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू, हाम्रा अगमवक्ताहरू, हाम्रा पिता-पुर्खाहरू र तपाईंका सारा मानिसमाथि आइपरेका यी कठिनाइलाई हलुका नसम्झनुहोस् । 33 हामीमाथि आइपरेका हरेक कुरामा तपाईं धर्मी हुनुहुन्छ किनकि तपाईंले विश्‍वाससाथ व्यवहार गर्नुभएको छ, तर हामीले चाहिँ दुष्‍टतापूर्वक काम गरेका छौँ । 34 हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू र हाम्रा पिता-पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेका छैनन्, न त तपाईंका आज्ञाहरू वा तपाईंले तिनीहरूलाई चेताउनी दिनुभएका तपाईंका करारका आदेशहरूलाई ध्यान दिएका छन् । 35 तिनीहरूको आफ्नै राज्य हुँदा तपाईंले तिनीहरूलाई दिनुभएको विशाल र मलिलो देशमा तपाईंको महान् उदारतालाई तिनीहरूले उपभोग गर्दागर्दै पनि तिनीहरूले तपाईंको सेवा गरेनन्, न त तिनीहरूका दुष्‍ट मार्गहरूबाट फर्के । 36 हेर्नुहोस्, हामी दास भएका छौँ । अहिले हामी तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई त्यसका फलहरू खान र त्यसका असल उब्जनीहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौँ । 37 हाम्रा पापले गर्दा त्यसका प्रशस्त उब्जनीहरू हामीमाथि प्रभुत्व गर्न तपाईंले खटाउनुभएका राजाहरूकहाँ जान्छन् । तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूले हाम्रा शरीरसाथै हाम्रा गाईवस्तुमाथि शासन गर्छन् । हामी बडो कष्‍टमा छौँ! 38 यी सबै कारणले गर्दा हामी लेखेर नै दृढ करार बाँध्दछौँ । छाप लगाइएको दस्तावेजमा हाम्रा राजकुमारहरू, लेवीहरू र पुजारीहरूका नाउँ हुन्छन् ।”

< नहेम्याह 9 >