लुका 17

1 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “पाप गर्न लगाउने कुराहरू निश्‍चय नै हुनेछन्, तर त्यस व्यक्‍तिलाई धिक्‍कार छ जसद्वारा यो आउँदछ । 2 उसले यी सानाहरूमध्ये एक जनालाई ठेस लगाउनुभन्दा त उसको घाँटीमा ढुङ्गा झुन्डाएर उसलाई समुद्रमा फालिदिएको भए उसको लागि असल हुने थियो । 3 आफ्नो बारेमा होसियार रहो । तिम्रो भाइले पाप गर्छ भने उसलाई हप्काऊ र उसले क्षमा माग्छ भने उसलाई क्षमा गर । 4 यदि उसले तिम्रो विरुद्धमा दिनमा सात पटकसम्म पाप गर्दछ भने र सातै पटक तिमीकहाँ फर्की आएर, ‘म पश्‍चात्ताप गर्छु’ भन्यो भने तिमीले उसलाई क्षमा गर्नुपर्छ । 5 प्रेरितहरूले प्रभुलाई भने “हाम्रो विश्‍वास बढाइदिनुहोस् ।” 6 प्रभुले भन्‍नुभयो “यदि तिमीसँग रायोको बिउजत्रो विश्‍वास छ भने नेभाराको रुखलाई ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्‍नेछ । 7 तर तिमीहरूमध्ये को होला जसको नोकरले जोत्दै वा भेडा चराउँदै गर्दा उसले तिमीलाई भन्‍नेछ, तत्कालै आउनुहोस् र खाना खानलाई बसौँ ।” 8 मेरो लागि खानको लागि खानेकुरा तयार पार, र कम्मरमा पटुका कस र मैले नसकुन्जेल मेरो सेवा गर भनेन भने, के तिमीले त्यसपछि केही कुरा खाने र पिउने गर्दछौ र? 9 उसले आफ्नो नोकरलाई स्याबासी दिनेछैन किनकि हामीले केही आज्ञा नगरी के उसले हाम्रो निम्ति गर्नेछ? 10 तिमीले अर्‍हाएको कुरा मात्र गर्दछौ भने तिमीले यसो पो भन्‍नुपर्ने हो, “हामी अयोग्य नोकरहरू हौँ, हामीले गर्नुपर्ने मात्र गरेका छौँ ।” 11 यो भन्दै गर्दा तिनीहरू यरूशलेमको यात्रा गर्दै थिए । त्यस बेला उहाँ सामरिया र गालील हुँदै यात्रा गर्नुभयो । 12 एउटा गाउँमा पुगेपछि, उहाँले दस जना कुष्‍ठरोग लागेका मानिसलाई भेट्नुभयो । तिनीहरू उहाँभन्दा टाढा उभिए । 13 र तिनीहरूले चर्को स्वरले भने, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।” 14 जब उहाँले तिनीहरूलाई देख्‍नुभयो र भन्‍नुभयो, “जाओ र आफैँलाई पुजारीकहाँ देखाओ । र तिनीहरू गए अनि निको भए ।” 15 जब तीमध्ये एक जनाले आफू निको भएको महसुस गर्‍यो, ऊ चर्को स्वरले परमेश्‍वरको महिमा गर्दै फर्कियो ।” 16 उसले येशूको चरणमा पर्दै, उहाँलाई धन्यवाद चढायो । ऊ एउटा सामरी थियो । 17 येशूले उत्तर दिँदै भन्‍नुभयो, “के त्यहाँ दस जना निको भएका होइनन्? अरू नौ जना कहाँ गए? 18 के यो परदेशीबाहेक निको भएकाहरू फर्केर परमेश्‍वरलाई महिमा दिनुपर्ने होइन र? 19 उहाँले त्यसलाई भन्‍नुभयो, “उठ र आफ्नो बाटो जाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” 20 फरिसीहरूले परमेश्‍वरको राज्य कहिले आउँछ भनी सोधे । येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “परमेश्‍वरको राज्य तिमीहरूले देखेको जस्तै होइन, 21 न त तिनीहरूले भन्‍नेछन्, ‘यता हेर! वा उता हेर!’ किनभने परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ ।” 22 येशूले चेलाहरूलाई भन्‍नुभयो, “त्यो दिन आउनेछ जब तिमीहरूले मानिसका पुत्रलाई हेर्ने इच्छा गरौला तर तिमीहरूले देख्‍नेछैनौ । 23 तिनीहरूले तिमीलाई भन्‍नेछन्, ‘यता हेर! उता हेर!’ तर तिमीहरूले नहेर, न त तिनीहरूलाई पछ्याओ । 24 आकाशमा एउटा कुनामा बिजुली चम्कदा अर्को कुनामा देखिएजस्तै मानिसका पुत्रको आगमनको दिनमा त्यस्तै हुनेछ । 25 तर उहाँ पहिले विभिन्‍न थोकहरूबाट सताइनुहुनेछ र यो पुस्ताद्वारा अस्वीकार गरिनुहुनेछ । 26 यस्ता घटनाहरू नोआको समयमा पनि भएको थिए र मानिसका पुत्रको समयमा पनि ती कुराहरू हुनेछन् । 27 नोआ जहाजभित्र नपसुन्जेलसम्म तिनीहरू खाँदै, पिउँदै, र विवाहमा सहभागी भएका थिए । त्यसपछि बाढी आयो र सबै कुरालाई विनाश गर्‍यो । 28 यस्तै घटनाहरू लोतको समयमा पनि घटेको थियो । त्यस समयमा तिनीहरूले खाँदै, पिउँदै, किन्दै, बेच्दै, र ती विभिन्‍न कुराहरूको निर्माण गर्दै थिए । 29 तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्‍ट गर्‍यो । 30 अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् । 31 त्यस दिनमा घरको माथिल्लो तल्‍लाबाट आफ्ना असल चिज लिनको लागि तल नआओ । र कोही खेतमा छ भने, नफर्क । 32 लोतकी पत्‍नीलाई सम्झ । 33 जसले आफ्नो प्राण बचाउन खोज्ला उसले त्यो गुमाउनेछ, तर जसले गुमाउला, उसको बचाइनेछ । 34 म तिमीलाई भन्‍नेछु, रातको समयमा दुई जना एकै ठाउँमा सुत्‍नेछन् । 35 तिनीहरूमध्ये एक जना लगिनेछ, र अर्को छोडिनेछ । 36 (खेतमा दुई जना हुनेछन् तिनीहरूमध्ये एक जना लगिनेछ र अर्को छोडिनेछ । ) 37 तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू जम्मा हुनेछन् ।”