< लेवीहरू 27 >

1 परमप्रभुले मोशालाई भन्‍नुभयो, 2 “इस्राएलका मानिसहरूलाई भन्, ‘यदि कसैले परमप्रभुलाई विशेष प्रतिज्ञा गर्दछ भने, त्यसको मूल्य यसरी निर्धारण गर्नू । 3 बिसदेखि साठी वर्षसम्मको पुरुषको लागि पवित्रस्थानका शेकेलबमोजिम चाँदीका पचास शेकेल मूल्य तोकिदिनू । 4 सोही उमेरको स्‍त्रीको निम्ति भने मूल्य तिस शेकेल होस् । 5 पाँच वर्षदेखि बिस वर्षसम्मको पुरुषको लागि मूल्य बिस शेकेल र स्‍त्रीको लागि दस शेकेल निर्धारण गर्नू । 6 एक महिनादेखि पाँच वर्षसम्मको पुरुषको लागि मूल्य पाँच शेकेल र स्‍त्रीको लागि तिन शेकेल निर्धारण गर्नू । 7 साठी वर्षमाथिको पुरुषको लागि मूल्य पन्ध्र शेकेल र स्‍त्रीको लागि दस शेकेल निर्धारण गर्नू । 8 तर प्रतिज्ञा गर्ने मानिसले तोकिएको मूल्य तिर्न सकेन भने, त्यो मानिस पुजारीकहाँ प्रकट गरियोस्, र पुजारीले भाकल गर्ने मानिसको क्षमताअनुसार मूल्य निर्धारण गरिदिने छ । 9 यदि कसैले परमप्रभुको निम्ति कुनै पशु बलिदान गर्न चाहन्छ, र यदि उहाँले त्यो स्वीकार्नुभयो भने, त्यो पशु त्यसको निम्ति छुटाइने छ । 10 त्यो मानिसले त्यस पशुलाई नसाटोस्, असललाई खराबको निम्ति र खराबलाई असलको निम्ति । यदि त्यसले एउटालाई अर्कोको निम्ति साटेमा त्यो र जसको निम्ति त्यो साटिएको थियो, दुवै नै पवित्र हुने छन् । 11 तथापि, यदि त्यस मानिसले परमप्रभुलाई दिन्छु भनी प्रतिज्ञा गरेको पशु अशुद्ध छ र परमप्रभुले त्यो स्वीकार्नुभएन भने, त्यस मानिसले पशुलाई पुजारीकहाँ ल्याओस् । 12 पुजारीले बजार-मूल्यअनुसार त्यसको मूल्य निर्धारण गरोस् । पुजारीले त्यस पशुको मूल्य जति निर्धारण गर्दछ, त्यो नै त्यसको मूल्य हुने छ । 13 यदि त्यसको मालिकले त्यसलाई छुटाउन चाह्‍यो भने, त्यसले त्यसको छुटकाराको मूल्यमा पाँचौँ भाग थपोस् । 14 जब कुनै मानिसले आफ्नो घर परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा अलग गर्दछ भने, पुजारीले त्यो असल छ वा छैन भनेर हेरी त्यसको मूल्य निर्धारण गरोस् । पुजारीले त्यसको मूल्य जति निर्धारण गर्दछ, त्यति नै त्यसको मूल्य हुने छ । 15 तर आफ्नो घरलाई परमप्रभुको निम्ति अलग गर्ने मालिकले त्यो छुटाउन चाहेमा त्यसले त्यसको छुटकाराको मूल्यमा पाँचौँ भाग थपोस् र त्यो त्यसकै हुने छ । 16 यदि कुनै मानिसले आफ्नो केही जमिन परमप्रभुको निम्ति अलग गर्दछ भने, त्यो जमिनमा छर्न सकिने बिउको परिमाणअनुसार त्यसको मूल्य निर्धारण हुन्छ । एक मुरी जौको मूल्य चाँदीका बिस शेकेल बराबर हुने छ । 17 यदि त्यसले त्यो जमिन पुनर्स्थापनाको वर्षमा अलग गर्दछ भने, त्यसको मूल्य तोकिएबमोजिम हुने छ । 18 तर त्यसले आफ्नो जमिन पुनर्स्थापनाको वर्षपछि अलग गर्दछ भने, पुजारीले अर्को पुनर्स्थापनाको वर्ष आउनलाई बाँकी भएका वर्षहरूका आधारमा त्यो जमिनको मूल्य तय गरोस्, र मूल्य निर्धारण गर्दा त्यसको मूल्य घटाइयोस् । 19 यदि त्यो जमिन अलग गर्ने मानिसले त्यो छुटाउन चाहेमा त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस्, र त्यो त्यसको हुने छ । 20 तर यदि त्यसले त्यो जमिनलाई छुटाएन, वा त्यसले त्यो जमिन कुनै अर्को मानिसलाई बेचेको भए, त्यो अब फेरि छुटाउन मिल्दैन । 21 त्यो भूमि पुनर्स्थापनाको वर्षमा स्वतन्त्र हुँदा परमप्रभुको निम्ति पूर्ण रूपमा दिइएको जमिनझैँ त्यो परमप्रभुको निम्ति पवित्र उपहार हुने छ । त्यो पुजारीको हुने छ । 22 यदि कुनै मानिसले आफूले किनेको जमिन परमप्रभुको निम्ति अलग गर्दछ, तर त्यो जमिन त्यसको परिवारको जमिनको भाग होइन भने, 23 पुजारीले पुनर्स्थापनाको वर्षसम्म त्यसको मूल्य कति हुन्छ त्यो निर्धारण गरोस्, र त्यो मानिसले त्यस दिन परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा त्यसको मूल्य तिरोस् । 24 पुनर्स्थापनाको वर्षमा त्यो जमिन जसबाट किनिएको थियो अर्थात् त्यस जमिनको मालिककहाँ नै फिर्ता जाने छ । 25 सबै मूल्याङ्कन पवित्रस्थानको शेकेलको वजनको आधारमा गरियोस् । बिस गेरा एक शेकेल बराबर हुने छ । 26 पशुहरूमा पहिलो जन्मनेलाई कसैले पनि अलग नगर्नू, किनभने पहिलो जन्मने पहिलैबाट परमप्रभुकै हो । चाहे त्यो साँढे होस् वा भेडा, त्यो परमप्रभुको हो । 27 यदि त्यो अशुद्ध पशु हो भने, त्यसको मूल्यमा पाँचौँ भाग थपेर त्यसको मालिकले त्यो किन्‍न सक्‍ने छ । यदि त्यो पशुको छुटकारा भएन भने, तोकिएको मूल्यमा त्यो बेचियोस् । 28 तर कुनै मानिसले आफूसँग भएका सबै सम्पत्तिबाट परमप्रभुलाई अर्पण गरेको कुरा, चाहे त्यो मानिस वा पशु, वा आफ्नो पारिवारिक जमिन जेसुकै भए पनि त्यो बेचिनु वा छुटाउनुहुँदैन । अर्पण गरिएको सबै कुरा परमप्रभुको निम्ति पवित्र हुन्छ । 29 नाशको निम्ति अर्पण गरिएको मानिसको निम्ति कुनै मोल नतिर्नू । त्यो मानिस मारिनुपर्छ । 30 भूमिको सबै दशांश, चाहे भूमिमा उब्जेका अन्‍न वा रुखहरूका फल जे भए पनि त्यो परमप्रभुकै हो । त्यो परमप्रभुको निम्ति पवित्र हुन्छ । 31 यदि कसैले आफ्नो दशांश छुटाउँछ भने, त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस् । 32 बथान वा बागल, वा गोठालोको लौरोमुनिबाट जाने हरेक पशुको दस भागमा एक भाग परमप्रभुको निम्ति अलग गरिनुपर्छ । 33 गोठालोले असल वा खराब पशु नछुटाओस्, र त्यसले एउटाको निम्ति अर्को नबद्‍लोस् । यदि त्यसले त्यो परिवर्तन गरेमा त्यो र जसको निम्ति त्यो बद्‌लिएको थियो, दुवै नै पवित्र हुने छन् । त्यो छुटाउन सकिने छैन’ ।” 34 परमप्रभुले सीनै पर्वतमा इस्राएलका मानिसहरूका निम्ति दिनुभएका आज्ञाहरू यी नै हुन् ।

< लेवीहरू 27 >