< लेवीहरू 14 >

1 परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो, 2 “रोग लागेको मानिसको शुद्धिकरणको दिनको निम्ति विधि यी नै हुन् । त्यसलाई पुजारीकहाँ लगिनुपर्छ । 3 छालाको सरुवा रोग निको भएको छ वा छैन भनेर हेरेर त्यस मानिसलाई जाँच्‍नको निम्ति पुजारी छाउनीभन्दा बाहिर जाने छ । 4 त्यसपछि कोही शुद्ध हुनको निम्ति दुई जीवित, शुद्ध चराहरू, देवदारुको काठ, सिन्दुरे रङ्गको धागो, र हिसप ल्याउनू भनी पुजारीले आज्ञा गर्ने छ । 5 पुजारीले माटोको भाँडामा भएको ताजा पानीमाथि दुई चराहरूमध्ये एउटालाई मार्नू भनी आज्ञा गर्ने छ । 6 पुजारीले त्यसपछि जीवित चरा र देवदारुको काठ, र सिन्दुरे रङ्गको धागो र हिसप लिने छ, र यी सबैलाई ताजा पानीमाथि मारिएको चराको रगतमा चोप्‍ने छ । 7 त्यसपछि पुजारीले यस पानीलाई रोगबाट शुद्धिकरण गरिनुपर्ने मानिसमाथि सात पटक छर्कने छ, र त्यसलाई शुद्ध घोषणा गर्ने छ । त्यसपछि पुजारीले जीवित चरालाई भने खुला ठाउँमा छोडिदिने छ । 8 शुद्धिकरण भइरहेको मानिसले आफ्‍ना लुगाहरू धुने छ, आफ्‍नो सबै कपाल खौरने छ, र पानीले नुहाउने छ, र त्यो शुद्ध हुने छ । त्यसपछि त्यो छाउनीभित्र आओस्, तर त्यो सात दिनसम्‍म आफ्नो पालभन्दा बाहिरै बसोस् । 9 सातौँ दिनमा त्यसले आफ्नो शिरको कपाल, र आफ्‍नो दाह्री र आँखीभुइँ खौरोस् । त्यसले आफ्‍नो सबै कपाल खौरोस्, र आफ्‍ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो शुद्ध हुने छ । 10 आठौँ दिनमा त्यसले दुईवटा निष्‍खोट भेडाका पाठा, एउटा निष्‍खोट एक वर्षे भेडाको पाठी, र अन्‍नबलिको निम्ति तेलसँग मुछिएको डेढ पाथी मसिनो पिठो, र आधा माना तेल ल्याओस् । 11 शुद्ध गर्ने पुजारीले शुद्ध गरिनुपर्ने मानिसलाई ती सर-सामानहरूसँगै परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा खडा गराओस् । 12 पुजारीले दुईवटा भेडाका पाठामध्ये एउटा लिने छ र आधा माना तेलसँगै दोषबलि अर्पण गर्ने छ, र परमप्रभुको अगि डोलाइने बलिको रूपमा उसले त्यो डोलाउने छ । 13 उसले त्यो भेडाको पाठोलाई पवित्रस्थानमा पापबलिहरू र होमबलिहरू मारिने ठाउँमा मारोस्, किनभने पापबलि र दोषबलि पुजारीको भागको हो, कारण त्यो अति पवित्र हो । 14 पुजारीले दोषबलिको केही रगत लिने छ र शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पोमा, दाहिने हातको बुढी औँलामा, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ । 15 पुजारीले मानाबाट तेल लिएर आफ्नै देब्रे हातको हत्‍केलामा खन्‍याउने छ र 16 र आफ्नो देब्रे हातमा भएको तेलमा आफ्नो दाहिने औँला चोपेर परमप्रभुको अगि केही तेल सात पल्‍ट छर्कने छ । 17 पुजारीले आफ्नो हातमा बाँकी रहेको तेललाई शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ । 18 अनि पुजारीले आफ्नो हातमा बाँकी रहेको तेलचाहिँ शुद्ध गरिनुपर्ने मानिसको शिरमा खन्याउने छ, र पुजारीले परमप्रभुको अगि त्यो मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ । 19 अनि पुजारीले पापबलिलाई अर्पण गर्ने छ र आफ्नो अशुद्धताको कारण शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र पछि उसले होमबलिलाई मार्ने छ । 20 त्यसपछि पुजारीले होमबलि र अन्‍नबलिलाई वेदीमा अर्पण गर्ने छ । पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, अनि त्यो शुद्ध हुने छ । 21 तर यदि त्यो मानिस गरिब छ, र यी बलिदानहरू ल्याउने त्यसको औकात छैन भने, त्यसले एउटा भेडाको पाठोलाई डोलाइनको निम्ति दोषबलिको रूपमा आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई ल्याओस्, र अन्‍नबलिको निम्ति तेलमा मुछिएको आधा पाथी मसिनो पिठो, र आधा माना तेल, 22 र आफूले ल्याउन सक्‍ने जति दुईवटा ढुकुर वा परेवाका दुई बचेरा ल्याओस् । एउटा चराचाहिँ पापबलि हुने छ र अर्कोचाहिँ होमबलि हुने छ । 23 आठौँ दिनमा त्यसले यी सबै आफ्नो शुद्धिकरणको निम्ति पुजारीकहाँ परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस् । 24 पुजारीले बलिदानको निम्ति भेडाको बच्‍चा लिने छ, र त्यससँगै उसले आधा माना जैतूनको तेल लिने छ, र उसले ती माथि उठाएर परमप्रभुको अगि अर्पण गर्ने छ । 25 उसले दोषबलिको निम्ति भेडाको बच्‍चालाई मार्ने छ, र दोषबलिको केही रगत लिएर शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ । 26 त्यसपछि पुजारीले केही तेल आफ्नो देब्रे हातको हत्‍केलामा खन्‍याउने छ, 27 र उसले आफ्नो दाहिने हातको औँलाले आफ्नो देब्रे हातमा भएको तेलबाट केही परमप्रभुको अगि सात पटकसम्‍म छर्कने छ । 28 त्यसपछि पुजारीले आफ्नो हातमा भएको तेलबाट केही लिएर दोषबलिको रगत जहाँ-जहाँ लगाएको थियो अर्थात् शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ । 29 परमप्रभुको अगि शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्नलाई उसले आफ्नो हातमा भएको बाँकी तेल त्यस मानिसको शिरमा लगाइदिने छ । 30 उसले ढुकुरहरूमध्ये वा परेवाका बचेराहरूमध्ये एउटालाई आफ्नो क्षमताअनुसार अर्पण गरोस्- 31 अन्‍नबलिसँगै उसले एउटाचाहिँ पापबलि र अर्को होमबलिको निम्ति अर्पण गरोस् । 32 छालामा सरुवा रोग भएको मानिस जसले आफ्नो शुद्धिकरणको निम्ति आवश्‍यक बलि ल्याउन सक्‍दैन, त्यसको निम्ति विधि यी नै हुन् ।” 33 परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो, 34 “मैले तिमीहरूलाई अधिकार गर्न दिएको कनान देशमा पुगेपछि तिमीहरूको अधिकार हुने त्यस देशमा यदि मैले तिमीहरूका घरमा फैलिने ढुसी पठाएँ भने, 35 घरको मालिकले आएर पुजारीलाई त्यसबारे बताओस् । त्यसले भनोस् ‘मैले मेरो घरमा ढुसीजस्तै केही देखेको छु ।’ 36 त्यसपछि पुजारीले त्यहाँ गएर ढुसी छ वा छैन भनेर हेर्नुभन्दा अगि तिनीहरूले त्यो घर खाली गर्नू भनेर उसले आज्ञा गर्ने छ, ता कि घरमा भएको कुनै पनि कुरा अशुद्ध नहोस् । 37 घरका पर्खालहरूमा ढुसी आएको छ वा छैन र त्यसले पर्खालका सतहहरूमा हरियो वा रातो रेखाहरू बनाएको छ वा छैन भनेर उसले जाँच गर्ने छ । 38 यदि घरमा ढुसी आएको छ भने, पुजारी घरबाट बाहिर जाने छ र घरको ढोका सात दिनसम्‍म बन्‍द गरिदिने छ । 39 सातौँ दिनमा पुजारी फर्कने छ र घरका पर्खालहरूमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ । 40 यदि फैलिएको छ भने, पुजारीले ढुसी देखा परेका ढुङ्गाहरूलाई झिकेर सहरभन्दा बाहिर कुनै एउटा अशुद्ध स्थानमा फ्याँक्‍न आज्ञा गर्ने छ । 41 घरका सबै भित्री पर्खालहरू खुर्कनुपर्ने छ, र खुर्किएर निकालिएको फोहोर वस्‍तुलाई सहरबाट बाहिर लगेर कुनै अशुद्ध स्थानमा फ्याँक्‍नुपर्छ । 42 तिनीहरूले अरू ढुङ्गाहरू लिएर ती झिकिएका ढुङ्गाहरूका स्थानमा राखून् र घरका पर्खालहरू पोत्‍नको निम्ति नयाँ माटो प्रयोग गरून् । 43 ढुङ्गाहरू निकालिएको र पर्खाल खुर्किएर पोतिएको घरमा फेरि ढुसी देखा पर्‍यो र त्यो फैलियो भने, 44 पुजारी आएर घरमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो फैलिएको छ भने, त्यो हानि गर्ने ढुसी हो र त्यो घर अशुद्ध हुन्छ । 45 त्यो घर भत्‍काइयोस् । त्यस घरका ढुङ्गाहरू, काठहरू र पोतिएको माटो सबै सहरभन्दा बाहिर कुनै अशुद्ध स्थानमा लगियोस् । 46 साथै, त्यो घर बन्‍द गरिएको बेला त्यहाँ प्रवेश गर्ने मानिस साँझसम्म अशुद्ध हुने छ । 47 त्यस घरमा सुतेका वा खाएका जोसुकैले आफ्ना लुगाहरू धोऊन् । 48 घरलाई पोतिसकेपछि त्यहाँ ढुसी फैलिएको छ वा छैन भनेर पुजारी त्यस घरभित्र जाँच्‍नको निम्ति जाँदा यदि ढुसी बिलाइसकेको रहेछ भने, उसले त्यो घरलाई शुद्ध घोषणा गर्ने छ । 49 त्यसपछि पुजारीले घरलाई शुद्ध गर्नको निम्ति दुईवटा चरा, देवदारुको काठ, सिन्दुरे रङ्गको धागो र हिसप लिओस् । 50 उसले माटोको भाँडाको ताजा पानीमाथि एउटा चरालाई मार्ने छ । 51 उसले देवदारुको काठ, हिसप, सिन्दुरे रङ्गको धागो, र जीवित चरा लिएर ती सबैलाई मारिएको चराको रगत र ताजा पानीमा चोप्‍ने छ र घरमा सात पटक छर्कने छ । 52 उसले त्यो घरलाई चराको रगत र ताजा पनि, जीवित चरा, देवदारुको काठ, हिसप र सिन्दुरे रङ्गको धागोले शुद्ध गर्ने छ । 53 तर उसले जीवित चरालाई भने सहरबाट बाहिर खुला मैदानहरूमा जान दिने छ । यसरी उसले त्यो घरको निम्ति प्रायश्‍चित्त गरोस्, र त्यो शुद्ध हुने छ । 54 सबै प्रकारका सरुवा रोगहरू र त्यस्ता रोग ल्याउने वस्‍तुहरू र चिलाउने रोग, 55 लुगा र घरभित्रको ढुसी, 56 सुनिएर फुलेको ठाउँ, डाबर, र उज्‍ज्‍वल दागलाई, 57 ती कुन बेला अशुद्ध छन् र कुन बेला शुद्ध छन् भनेर निर्धारण गर्नका निम्ति विधि यी नै हुन् । छालाका सरुवा रोगहरू र ढुसीको निम्ति विधि यी नै हुन् ।”

< लेवीहरू 14 >