< यहोशू 4 >

1 जब सबै मानिस यर्दन तरे, परमप्रभुले यहोशूलाई भन्‍नुभयो, 2 “मानिसहरूबाट एक जना अर्थात् हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छान् । 3 तिनीहरूलाई यस्तो आज्ञा दे, “यर्दन नदीको बिचबाट बाह्रवटा ढुङ्गा लेओ जहाँ पुजारीहरू सुक्खा जमिनमा उभिरहेका हुन्छन्, तिनीहरूलाई तिमीहरूसँगै लेओ र तिनीहरूलाई आज रात बिताउने ठाउँमा राख' ।” 4 त्यसपछि यहोशूले बाह्र जना मानिसलाई बोलाए जसलाई तिनले इस्राएलका कुलहरूबाट अर्थात् हरेक कुलबाट एक-एक जना चुनेका थिए । 5 यहोशूले तिनीहरूलाई भने, “तिमीहरूका परमप्रभु परमेश्‍वरको सन्दुकअगि यर्दनको बिचमा जाओ । तिमीहरू हरेकले इस्राएलका मानिसहरूका कुलहरूको सङ्ख्याअनुसार आ-आफ्नो काँधमा एउटा-एउटा ढुङ्गा लिनु । 6 आउने दिनहरूमा तिमीहरूका सन्तानहरूले, 'यी ढुङ्गाहरूको अर्थ के हो?' भनी सोध्दा तिमीहरूका निम्ति यो एउटा चिन्ह हुने छ । 7 अनि तिमीहरूले तिनीहरूलाई यसो भन्‍ने छौ, 'परमप्रभु परमेश्‍वरको सन्दुक सामु यर्दन नदीको पानी रोकिएको थियो । त्यसैले यी ढुङ्गाहरू इस्राएलका मानिसहरूका निम्ति स्मारक हुने छन्' ।” 8 इस्राएलका मानिसहरूले यहोशूले आज्ञा गरेमुताबिक गरे र तिनीहरूले परमप्रभुले यहोशूलाई भन्‍नुभएअनुसार यर्दनको बिचबाट बाह्रवटा ढुङ्गा टिपे । तिनीहरूले ढुङ्गाहरूलाई इस्राएलका मानिसहरूका सङ्ख्याअनुसार खडा गरे । तिनीहरूले ढुङ्गाहरूलाई छाउनी हालेको ठाउँमा लगे र तिनीहरूलाई त्यहीँ खडा गरे । 9 यहोशूले करारको सन्दुक बोक्‍ने पुजारीहरूको खुट्टाले टेकेका ठाउँ अर्थात् यर्दनको बिचबाट ल्याएका बाह्रवटा ढुङ्गा खडा गरे । त्यो स्मारक आज पनि त्यहीँ छ । 10 मोशाले यहोशूलाई आदेश दिएबमोजिम परमप्रभुले मानिसहरूलाई बताउनू भनी आज्ञा गर्नुभएका सबै कुरा पुरा नभएसम्म सन्दुक बोक्‍ने पुजारीहरू यर्दनको बिचमा नै खडा भए । मानिसहरू छिटो-छिटो गरी तरे । 11 जब सबै मानिस तरी सके परमप्रभुको सन्दुक र पुजारीहरू मानिसहरूको अगिअगि तरे । 12 रूबेनको कुल, गादको कुल र मनश्शेको आधा कुल मोशाले तिनीहरूलाई आज्ञा गरेअनुसार एउटा फौजको रूपमा इस्राएलका मानिसहरूका अगिअगि गए । 13 झण्डै चालिस हजार सशस्‍त्र मानिस परमप्रभुको सामु यरीहोको मैदानमा युद्धको निम्ति गए । 14 त्यस दिन परमप्रभुले यहोशूलाई सबै इस्राएलको दृष्‍टिमा महान् बनाउनुभयो । तिनीहरूले मोशालाई आदर गरेझैँ तिनको सारा जीवनभरि तिनलाई पनि आदर गरे । 15 परमप्रभु यहोशूसँग बोल्नुभयो, 16 “गवाहीको सन्दुक बोक्‍ने पुजारीहरूलाई यर्दनबाट बाहिर आउनलाई आज्ञा दे ।” 17 त्यसैले, यहोशूले पुजारीहरूलाई आज्ञा दिए, “यर्दनबाट बाहिर आओ ।” 18 जब परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरू यर्दनको बिचबाट आए र तिनीहरूका खुट्टाका पैताला सुक्खा जमिनबाट उठाइए, यर्दनको पानी आफ्नो स्थानमा फर्क्यौ र त्यो चार दिन पहिलेको जस्तै यसको किनारासम्म बग्‍न लाग्यो । 19 मानिसहरू पहिलो महिनाको दसौँ दिनमा यर्दनबाट बाहिर आए । तिनीहरू यर्दनको पूर्वतिर गिलगालमा बसे । 20 तिनीहरूले यर्दनबाट बाहिर ल्याएका ती बाह्रवटा ढुङ्गालाई यहोशूले गिलगालमा खडा गरे । 21 तिनले इस्राएलका मानिसहरूलाई भने, “जब तिमीहरूका सन्तानहरूले 'यी ढुङ्गाहरू के हुन्?' भनी सोध्छन्, 'इस्राएलले यहीँबाट यर्दन नदीमा सुक्खा जमिनमा तरेको थियो' भनी 22 तिमीहरूका सन्तानहरूलाई बताउनू ।' 23 जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले लाल समुद्रलाई सुक्खा बनाउनुभएको थियो त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू पार नगरेसम्म यर्दनको पानी तिमीहरूको निम्ति सुकाउनुभयो । 24 यसरी परमप्रभुको बाहुली शक्‍तिशाली छ भनी पृथ्वीका सबै मानिसले जानून् र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सदासर्वदा आदर गर ।”

< यहोशू 4 >