< अय्यूब 17 >

1 मेरो आत्मा नाश पारिएको छ, र मेरो आयु सकिएको छ । चिहान मेरो लागि तयार छ । 2 निश्‍चय नै गिल्ला गर्नेहरू मसितै छन् । मेरो आँखाले सधैं तिनीहरूको रिसलाई हेर्नुपर्छ । 3 मलाई धरौटी दिनुहोस् । तपाईं आफै मेरो जमानी हुनुहोस् । मलाई मदत गर्नलाई अरू को नै छ र? 4 किनकि हे परमेश्‍वर, तपाईंले तिनीहरूका हृदयको समझलाई बन्द गर्नुभएको छ । त्यसकारण तपाईंले तिनीहरूलाई मभन्दा माथि उचाल्नुहुन्‍न । 5 इनामको लागि जसले आफ्नो मित्रहरूको बदनामी गर्छ, त्यसका छोराछोरीका आँखा कमजोर हुनेछन् । 6 तर उहाँले मलाई मानिसहरूको उखान बनाउनुभएको छ । तिनीहरूले मेरो मुखैमा थुक्छन् । 7 शोकको कारण मेरो आँखा पनि धमिलो भएको छ । मेरो शरीरका सम्पूर्ण भाग छायाजत्तिकै सुकेका छन् । 8 यसले सोझा मानिसहरूलाई अलमलमा पार्नेछन् । निर्दोष मानिसले आफैलाई ईश्‍वरहीन मानिसहरूको विरुद्धमा सुर्‍याउनेछ । 9 धर्मी मानिस आफ्नो बाटोमा हिंड्नेछ । शुद्ध हात भएकोचाहिं बलियो हुँदै जानेछ । 10 तर तिमीहरू सबैले चाहिं फेरि कोसिस गर । तिमीहरूका बिचमा बुद्धिमान् मानिस मैले पाउनेछैनँ । 11 मेरा दिन बितिसके । मेरा योजनाहरू चकनाचूर भए, अनि मेरो हृदयको इच्छा पनि त्‍यस्‍तै भयो । 12 यी मानिसहरू, यी गिल्ला गर्नेले रातलाई दिनमा बद्लन्‍छन् । उज्यालो अँध्यारको नजिकै छ । 13 मैले आशा गरेको घर पाताल मात्र हो भने, र अन्धकारमा मेरो ओछ्यान मैले बनाएको छु भने, (Sheol h7585) 14 र मैले खाडललाई, 'तँ मेरो बुबा हो,' अनि किरालाई 'तँ मेरी आमा वा बहिनी' हो भनेको छु भने, 15 तब मेरो आशा खोइ त? कसले मेरो निम्ति कुनै आशा देख्‍न सक्‍छ र? 16 जब हामी धूलोमा फर्कन्‍छौं, तब के मसँगै आशा पनि पातालका ढोकाहरूमा जानेछ र? (Sheol h7585)

< अय्यूब 17 >