< यशैया 43 >

1 तर अब ए याकूब तँलाई सृष्‍ट गर्नुहुने, अनि ए इस्राएल, तँलाई बनाउनुहुने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः “नडरा, किनकि मैले तँलाई उद्धार गरेको छु । तेरो नाउँ काढेर मैले तँलाई बोलाएको छु, तँ मेरै होस् । 2 तँ पानीबाट भएर जाँदा, म तँसँग हुनेछु । अनि नदीहरूबाट भएर जाँदा तिनीहरूले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट भएर हिंड्दा तँ जल्नेछैनस् र ज्वालाहरूले तँलाई भस्म पार्नेछैनन् । 3 किनकि म परमप्रभु तेरो परमेश्‍वर, इस्राएलको परमपवित्र तेरो उद्धारक हुँ । मैले मिश्रदेशलाई तेरो मूल्यको रूपमा दिएको छु, कूश र सेबालाई तेरो बद्लामा दिएको छु । 4 तँ मेरो दृष्‍टिमा मूल्यवान र विशेष भएको हुनाले, म तँलाई प्रेम गर्छु । यसकारण तेरो सट्टामा म मानिसहरूलाई र जीवनको सट्टामा अरू मानिसहरूलाई तेरो दिने छु । 5 नडरा, किनभने म तँसँग छु । तेरा सन्तानलाई म पुर्वबाट ल्याउनेछु र तँलाई पश्‍चिमबाट जम्‍मा पार्नेछु । 6 म उत्तरलाई, 'तिनीहरूलाई सुम्‍पीदे,' र दक्षिणलाई, 'कुनैलाई पनि नरोक्,' भन्‍नेछु। मेरा छोराहरूलाई टाढाबाट र मेरी छोरीहरूलाई पृथ्वीको सुदूर क्षेत्रहरूबाट ल्‍याओ । 7 मेरो नाउँद्वारा बोलाइएका सबैलाई, जसलाई मैले मेरो महिमाको निम्ति सृष्‍टि गरेको छु, जसलाई मैले आकार दिएँ, हो, जसलाई मैले बनाएँ । 8 आफूसँग आँखा भएर पनि अन्धा मानिसहरू, र आफूसँग कान भएर पनि बहिराहरूलाई बहिर ल्‍याओ । 9 सबै जातिहरू एकसाथ भेला हुन्छन् र मानिसहरू जम्‍मा हुन्छन् । तिनीहरूमध्ये कसले यो घोषणा गर्न सक्थ्यो र हामीलाई पहिलेको कुराहरू बताउन सक्थ्यो? तिनीहरूलाई ठिक साबित गर्न आ-आफ्ना गवाही ल्याऊन्, तिनीहरूले सुनून् र 'यो सत्य हो' भनी पुष्‍टि गरून् । 10 परमप्रभु घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा गवाहीहरू हौ र मैले चुनेको मेरो सेवक हौ, ताकि तिमीहरूले मलाई चिन र ममा विश्‍वास गर र म उही हुँ भनी बुझ । मभन्‍दा पहिले त्यहाँ कुनै ईश्‍वर बनेको थिएन, र न मपछि कुनै ईश्‍वर हुनेछ । 11 म, म परमप्रभु हुँ, र मबाहके कुनै उद्धारक छैन । 12 मैले घोषणा गरेको छु, बचाएको छु र बताएको छु, तिमीहरूका माझमा अरू कुनै ईश्‍वर छैन । तिमीहरू मेरा गवाहीहरू हौ । म परमेश्‍वर हुँ,” परमप्रभु घोषणा गर्नुहुन्छ । 13 आजको दिनदेखि म उही हुँ र कसैले पनि मेरो हातबाट कसैलाई छुट्टाउनेछैन । म काम गर्छु र कसले त्यो फर्काउन सक्छ र?” 14 परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्‍नुहुन्छ, “तिमीहरूका निम्‍ति म बेबिलोनमा पठाउँछु र तिनीहरू सबैलाई भगौडाहरूका रूपमा तल लानेछु, यसरी बेबिलोनीहरूका आनन्दको गीतलाई विलापको सोरमा बदली गर्नेछु । 15 म परमप्रभु, तेरो परमपवित्र, इस्राएलको सृष्‍टिकर्ता, तेरो राजा हुँ ।” 16 ‍परमप्रभु यसो भन्‍नुहुन्छ, (जसले समुद्रमा बाटो र शक्तिशाली पानीमा गोरेटो खोल्नुभयो, 17 जसले रथ र घोडा र फौज र शक्तिशाली सेनालाई डोर्‍याउनुभयो । तिनीहरू एकसाथ ढले । तिनीहरू फेरि कहिल्यै उठ्नेछैनन् । बलिरहेका बत्ती निभाएझैं ती निभाइन्छन् ।) 18 “यी पहिलेका कुराहरूका बारेमा विचार नगर, न त धेरै पहिलेका कुराहरूका बारेमा विचार गर । 19 हेर, मैले एउटा नयाँ कुरा गर्न लागेको छु । अब यो पुरा हुन सुरु हुन्छ । के तिमीहरूले यो बुझ्दैनौ? मरुभूमिमा म एउटा बाटो र उजाड-स्थानमा पानीका खोलाहरू बानउनेछु । 20 खेतबारीका जङ्गली जनावरहरू, स्यालहरू र सुतुर्मुर्गहरूले मेरो आदर गर्नेछन्, किनभने मेरा चुनिएका मानिसहरूलाई पिउनको निम्ति म उजाड-स्थानमा पानी र मरुभुमिमा नदीहरू दिन्‍छु, 21 यी मानिसहरू जसलाई मैले आफ्‍नो निम्ति बनाएँ, ताकि तिनीहरूले मेरा प्रशंसाहरूको वर्णन गरून् । 22 तर ए याकूब, तैंले मलाई पुकारको छैनस् । ए इस्राएल, तँ मसँग थकित भएको छस् । 23 तैंले तेरो भेडाहरूमध्ये कुनैलाई पनि होमबलिको रूपमा मकहाँ ल्याको छैनस् न तेरा बलिदानहरूले मेरो आदर गरेको छस् । मैले तँमाथि अन्‍न बलिहरूको भार थोपारेको छैन न धूपहरूको माग गरेर तँलाई थकित बनाएको छु । 24 तैंले मलाई पैसा हालेर सुगन्धित बोझो किनेको छैनस्, न तेरो बलिदानहरूको बोसो ममाथि खन्याएको छस् । तर तैंले मलाई आफ्‍ना पापहरूले भार थोपरेको छस्, तैंले मलाई आफ्‍ना दुष्‍ट कामहरू थकित बनाएको छस् । 25 हो, म, म उही हुँ जसले तेरा अपराधहरूलाई मेरो आफ्‍नै निम्‍ति मेटिदिनेछु । अनि तेरा पापहरूलाई म फेरि कदापि आफ्‍नो मनमा राख्‍नेछैनँ । 26 जे भएको थियो मेरो निम्ति याद गर । हामी एकसाथ बहस गरौं । तेरो मुद्दा पेस गर्, ताकि तँ निर्दोष साबित हुन सक्‍छस् । 27 तेरो पहिलो बुबाले पाप गर्‍यो, अनि तेरा अगुवाहरूले मेरो विरुद्ध अपराद गरेका छन् । 28 यसकारण म पवित्र अधिकारीहरूलाई अशुद्ध तुल्याउनेछु । म याकूबलाई पुर्ण विनाशको निम्ति र इस्राएललाई अपमानपुर्ण निन्‍दाको निम्ति सुम्पनेछु ।”

< यशैया 43 >