< इजकिएल 23 >

1 'परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 “ए मानिसको छोरो, एउटै आमाका दुई छोरीहरू त्‍यहाँ थिए । 3 आफ्नो जवानी दिनमा तिनीहरूले मिश्रदेशमा वेश्‍यावृति गरे । तिनीहरूले त्यहाँ वेश्याको काम गरे । त्यहाँ तिनीहरूका स्‍तन मिचिए र तिनीहरूको कुमारी अवस्‍थाको मुन्टाहरू खेलाइए । 4 तिनिहरूमा दिदीको नाउँ ओहोला र बहिनीको नाउँ ओहोलिबा थियो । तब तिनीहरू मेरा भए, र तिनीहरूले छोराछोरी जन्‍माए । तिनीहरूका नाउँको अर्थ यही होः ओहोलाको अर्थ सामरिया र ओहोलिबाको अर्थ यरूशलेम हो । 5 तर मेरै भएको बेलामा पनि ओहोलाले वेश्‍यावृत्ति गरी । आफ्‍ना प्रेमी, प्रभावशाली अश्‍शूरीहरूसित त्‍यो मोहित भई, 6 नीलो वस्‍त्र लाउने गभर्नर र तिनका अधिकारीहरू, जो बलिया र सुन्दर थिए, ती सबै जना घोडा चढ्ने मानिसहरू थिए । 7 यसरी तिनीहरू, सबै असल अश्‍शूरी मानिसहरूलाई त्यसले आफैलाई सुम्पिदिई, र त्‍यो मोहित भएका हरेक व्‍यक्‍तिसँग अनि तिनीहरूका सबै मूर्तिहरूसँग त्यसले आफैलाई अशुद्ध पारी । 8 किनकि त्‍यसले मिश्रदेशमा हुँदा पनि त्‍यसको वेश्‍यावृतिको व्‍यवहार छाडेकी थिईन । जति बेला त्‍यो एउटी जवान केटी थिई, त्‍यति बेला तिनीहरू त्‍योसित सुतेका थिए । त्‍यति बेला तिनीहरूले पहिलो पल्‍ट त्‍यसका कन्‍या स्‍तनहरू खेलाएका थिए । त्‍यति बेला तिनीहरूले त्‍यससित आफ्‍ना यौनका छाडा व्‍यवहार गर्न सुरु गरेका थिए । 9 यसकारण त्यसका प्रेमीहरूका हातमा अर्थात् अश्‍शूरीहरूका हातमा मैले त्यसलाई सुम्पिदिएँ, जोसँग त्यो मोहित भई । 10 तिनीहरूले त्यसलाई नाङ्गो पारे, त्यसका छोराछोरीलाई लगे, त्यसलाई तरवारले मारे र अरू स्‍त्रीहरूका माझमा त्यो कुख्‍यात भई । यसरी तिनीहरूले त्यसलाई दण्ड दिए । 11 त्‍यसकी बहिनी ओहोलिबाले त्‍यो कुरा देखी, तर त्‍यो झन् बढी कामुक भई र आफ्‍नी दिदीभन्‍दा पनि बढी वेश्‍यावृत्तिको काम गर्न लागी । 12 अश्‍शूरीहरू, तिनका गभर्नरहरू र आकर्षक किसिमले वस्‍त्र पहिरिने अधिकारीहरूसँग त्यो कामुक भई, जो घोडा चढ्‍ने मानिसहरू थिए । ती सबै जना बलिया र सुन्दर मानिसहरू थिए । 13 त्यसले आफैलाई अशुद्ध पारेकी मैले देखें । ती दुवै जना दिदीबहिनी उस्‍तै थिए । 14 त्‍यसपछि त्‍यसले आफ्‍नो वेश्‍यावृत्ति झन्‌ बढाई । भित्तामा कोरिएका मानिसहरू, भित्तामा रातो रङ्गले पेन्‍ट गरेर बनाइएका कल्‍दीहरूका चित्रहरू त्यसले देखी, 15 आफ्‍ना कम्‍मर वरिपरि पटुका बाँधेका र आफ्‍ना शिरमा लट्‌कने फेटा बाँधेका । ती सबै जना कल्‍दी फौजका रथी अधिकारीहरूजस्‍ता, बेबिलोनियाका छोराहरूजस्‍तै देखिन्‍थे, जसको आफ्‍नो देश कल्‍दीया हो । 16 त्‍यसले उनीहरूलाई देख्‍ने बित्तिकै उनीहरूका निम्‍ति त्‍यो कामुक भई । यसैले कल्‍दिया देशमा उनीहरूकहाँ त्‍यसले दूतहरू पठाई । 17 त्‍यसपछि बेबिलोनीहरू त्‍यसकहाँ त्‍यसको कामुक ओच्छ्यानमा आए र आफ्‍ना छाडा यौनले तिनीहरूले त्‍यसलाई अशुद्ध पारे । त्‍यसले जे गरेकी थिई त्‍यसद्वारा त्‍यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्‍यो उनीहरूसँग टाढा भई । 18 जब त्‍यसले आफ्‍ना वेश्‍यावृत्तिका कामहरू गरी र आफ्‍नो नग्‍नता देखाई, तब जसरी मनमा घृणा बोकेर त्‍यसकी दिदीसँग म टाढा भएको थिएँ, त्‍यसरी नै म त्योसँग पनि टाढा भएँ । 19 तब मिश्रदेशमा त्‍यो वेश्या हुँदाको, आफ्‍ना युवावस्‍थाका समयलाई सम्‍झेर त्‍यसले आफ्‍नो वेश्‍यावृत्ति झन्‌ बढाई । 20 यसरी त्‍यो आफ्‍ना प्रेमीहरूसित कामुक भई, जसका गुताङ्गहरू गधाहरूका जस्‍ता थिए, अनि जसका वीर्य घोडाहरूका झैं निस्‍कन्‍थ्‍यो । 21 मिश्रीहरूले तेरा स्‍तनका मुन्‍टाहरू खेलाउँदा र तेरा जवानीका स्‍तनहरू मिच्‍दा, तैंले आफ्‍ना जवानीका लज्‍जापूर्ण कामहरू यसरी नै गरिस् । 22 यसैकारण ए ओहोलिबा, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः ‘हेर्, तेरा प्रेमीहरूलाई म तेरो विरुद्धमा उठाउनेछु । जसबाट तँ टाढा भईस्, उनीहरूलाई चारैतिरबाट म तेरो विरुद्धमा ल्‍याउनेछुः 23 बेबिलोनीहरू र सबै कल्‍दीहरू, पकोद, शोअ र कोअका मानिसहरू, र तिनीहरूसँगै सबै अश्‍शूरहरू, बलिया, सुन्‍दर मानिसहरू, गभर्नरहरू, कमाण्‍डरहरू, ती सबै जना अधिकारीहरू र इज्‍जतदार मानिसहरूलाई, घोडामा सवार सबै जना मानिसहरूलाई । 24 उनीहरू तेरो विरुद्धमा हतियारहरू र रथहरू र गाडाहरू र मानिसहरूका ठुलो भीडलाई साथमा लिएर आउनेछन्‌ । ठुला ढालहरू, साना ढालहरू लिएर र टोप लाएर उनीहरूले तँलाई घेरा हाल्‍नेछन्‌ । तँलाई दण्‍ड दिने मौका उनीहरूलाई म दिनेछु, र उनीहरूले आफ्‍ना कामहरूले तँलाई दण्‍ड दिनेछन्‌ । 25 मेरो डाहको रिस तँतिर म फर्काउनेछु, र क्रोधमा उनीहरूले तँसित व्‍यवहार गर्नेछन्‌ । उनीहरूले तेरा नाक र कान काट्‌नेछन्, र तेरा बाँचेकाहरू तरवारले ढल्‍नेछन्‌ । उनीहरूले तेरा छोराछोरीलाई लानेछन्, र तेरा बाँचेकाहरूलाई आगोले भस्‍म पार्नेछ । 26 उनीहरूले तेरा वस्‍त्र उतारेर तँलाई नाङ्गै बनाउनेछन्, र तेरा सबै गहना लैजानेछन्‌ । 27 यसरी तेरा लाजमर्दो व्यवहार र मिश्रदेशदेखि तैंले सुरु गरेका तेरा वेश्‍यावृत्तिका कामहरू तँबाट म हटाउनेछु । तैंले यी कुराहरूतिर आफ्‍ना कुदृष्‍टि लगाउनेछैनस्‌, र मिश्रदेशको सम्‍झना फेरि तैंले गर्नेछैनस्‌ ।' 28 किनभने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः 'हेर्, म तँलाई उनीहरूकै हातमा दिनेछु, जसलाई तँ घृणा गर्छेस्, उनीहरूकै हातमा जसबाट तँ टाढा भएकी थिइस् । 29 उनीहरूले तँसित घृणापूर्वक व्‍यवहार गर्नेछन् । तेरा सबै धन-सम्‍पत्ति उनीहरूले लानेछन्‌, र तँलाई नाङ्गो र उजाड पारेर छोड्‌नेछन् । अनि तँ कामुक र वेश्‍यावृत्तिमा संलग्‍न हुँदा भएझैं तँलाई नाङ्गो पारिनेछ । 30 वेश्‍याले झैं तैंले काम गरेको, जातिहरूसँग कामुक भएको, उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछेन् । 31 तँ आफ्‍नी दिदीकै चालमा हिंडेकी छेस्‌, यसैले त्‍यसको दण्‍डको कचौरा म तेरो हातमा दिनेछु ।' 32 परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘तैंले तेरी दिदीको कचौरा पिउनेछस्, जो ठुलो र गहिरो छ । तँ गिल्‍ला पात्र र हाँसोको विषय हुनेछेस्— यो कचौरामा धेरै अट्छ । 33 मतवालापन र दुःखले, त्रास र विनाशको कचौराले तँ पूर्ण हुनेछेस्‌ । तेरी दिदी सामरियाको कचौरा । 34 तैंले त्यो पिउनेछेस् र त्‍यसलाई रित्तो पार्नेछेस् । त्यसपछि तैंले त्‍यो कचौरा टुक्रा-टुक्रा पार्नेछेस्, र ती टुक्राले आफ्‍ना स्‍तनहरू काट्नेछेस् । किनकि मैले नै यो घोषणा गरेको हुँ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।' 35 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘तैंले मलाई बिर्सेको र मलाई तेरो पछाडि फालेको छस्, यसैले आफ्‍नो लज्‍जास्‍पद व्‍यवहार र यौनको अनैतिक कामहरूका दुष्‍परिणामहरू तैंले सहनुपर्नेछ' ।” 36 परमप्रभुले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, के तैंले ओहोला र ओहोलिबाको न्‍याय गर्नेछस्? त्‍यसैले तिनीहरूका घृणित कामहरूका तिनीहरूलाई विरोध गर, 37 किनकि तिनीहरूले व्‍यभिचार गरेका छन्, र तिनीहरूका हातहरूमा रगत छ । तिनीहरूले आफ्‍ना मूर्तिहरूसित व्‍यभिचार गरे, र तिनीहरूका मूर्तिहरूका प्रसादको रूपमा तिनीहरूले आफ्‍ना छोराहरूलाई आगोबाट हिंड्न पनि लगाएका छन् । 38 त्यसपछि तिनीहरूले अहिले निरन्तर मलाई यसो गर्छन्‌: तिनीहरूले मेरो पवित्रस्‍थानलाई अशुद्ध पार्छन्, र त्यसै दिनमा तिनीहरूले मेरा शबाथहरूलाई अपवित्र पार्छन् । 39 किनभने तिनीहरूले आफ्‍ना छोराछोरीलाई आफ्‍ना मूर्तिहरूका निम्‍ति बलि चढाएका, अनि त्‍यसै दिन तिनीहरू मेरो पवित्रस्‍थानलाई अशुद्ध पार्न त्‍यसभित्र आए । यसैले हेर्, तिनीहरूले मेरो मन्‍दिरको बिचमा यसो गरेका छन् । 40 अब हेर— दूतहरूले पठाएका टाढाबाट आएका मानिसहरूलाई तैंले बोलाईस् । तिनीहरू साँच्‍चै आए जसका निम्‍ति तैंले नुहाईस्, आँखामा गाजल लगाईस् र आफूलाई गहनाले सिंगारिस्‌ । 41 त्यहाँ तँ एउटा सुन्‍दर पलङ्गमा बसिस्, र त्‍यसको अगाडि सजाइएको टेबलमा मेरो धूप र मेरो तेल राखिस्‌ । 42 यसैले हल्ला गर्ने भीड त्यसको वरिपरी थियो । तिनमा सबै किसिमका मानिसहरू, यतिसम्म कि उजाड-स्‍थानबाट साबीहरू पनि ल्याइए, र उनीहरूले आफ्‍ना हातमा चुराहरू लगाए र शिरमा सुन्दर मुकुटहरू लगाए । 43 तब व्‍भिचारले दिक्‍क भएकी स्‍त्रीको विषयमा मैले यसो भनें, 'अब उनीहरू त्‍यससँग यौनका अनैतिक काम गर्नेछन्, र त्यसले उनीहरूसँग गर्नेछे ।’ 44 जसरी मानिसहरू एउटी वेश्याकहाँ जान्‍छन् त्‍यसरी उनीहरू त्‍यसकहाँ गए र त्‍यससँग सुते । यसरी उनीहरू ती अनैतिक स्‍त्रीहरू, ओहोला र ओहोलिबासित सुते । 45 तर धार्मिक मानिसहरूले न्‍याय गर्नेछन् र व्‍यभिचारिणीहरूका रूपमा तिनीहरूलाई दण्‍ड दिनेछन् अनि हत्‍या गर्नेहरूलाई सुनाउने दण्‍डले तिनीहरूले उनीहरूलाई दण्‍ड दिनेछन्, किनभने तिनीहरू व्‍यभिचारिणीहरू हुन्‌ र तिनीहरूका हातमा हत्‍याको रगत छ । 46 यसैले परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म तिनीहरूका विरुद्धमा एउटा भीड खडा गर्नेछु र तिनीहरूलाई त्रास र लूटमा सुम्‍पिदिनेछु । 47 तब त्यो भीडले तिनीहरूलाई ढुङ्गाले हान्‍नेछन्, र उनीहरूका तरवारले तिनीहरूलाई खत्तम पार्नेछन् । तिनीहरूका छोराछोरीलाई उनीहरूले मार्नेछन्‌ र तिनीहरूका घरहरू जलाउनेछन्‌ । 48 किनकि देशबाट लज्‍जास्‍पद व्‍यवहारलाई म खतम गर्नेछु, र सबै स्‍त्रीलाई अनुशासनमा ल्याउनेछु ताकि तिनीहरू फेरि वेश्याको जस्तो काम नगरून् । 49 यसरी उनीहरूले तेरा लाजमर्दा व्यवहारहरू तेरै विरूद्धमा खडा गर्नेछन् । तैंले आफ्‍ना मूर्तिहरूसित गरेका पापको दोष तैंले भोग्‍नेछेस्‌, र यसरी म नै परमप्रभु परमेश्‍वर हुँ भनी तैंले जान्‍नेछेस् ।

< इजकिएल 23 >