< व्यवस्था 15 >

1 हरेक सात वर्षको अन्त्यमा कर्जाहरू रद्द गरिदिनू । 2 त्यो काम यसरी गरिने छः हरेक ऋणदाताले आफ्नो छिमेकीलाई दिएको ऋण रद्द गरिदिने छ । त्यसले आफ्नो छिमेकी वा भाइबाट ऋणको माग गर्दैन किनकि परमप्रभुको कर्जामाफीको घोषणा गरिएको छ । 3 तिमीहरूले परदेशीबाट चाहिँ यसको माग गर्न सक्छौ, तर तिम्रो भाइको ऋणचाहिँ फुक्‍का गरिदेओ । 4 तथापि, तिमीहरूका बिचमा कोही गरिब हुनुहुँदैन (किनकि परमप्रभुले तिमीहरूलाई सम्पत्तिको रूपमा अधिकार गर्न दिनुहुने देशमा तिमीहरूलाई निश्‍चय नै आशिष् दिनुहुने छ) । 5 तर यसको लागि तिमीहरूले आज मैले तिमीहरूलाई दिएका यी सबै आज्ञा पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज होसियारीसाथ सुन्‍नुपर्छ । 6 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूलाई आशिष् दिनुहुने छ । तिमीहरूले धेरै जातिहरूलाई ऋण दिने छौ, तर तिमीहरूले ऋण लिने छैनौ । तिमीहरूले धेरै जातिहरूमाथि शासन गर्ने छौ, तर तिनीहरूले तिमीहरूमाथि शासन गर्ने छैनन् । 7 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशको कुनै पनि सहरभित्र तिमीहरूका बिचमा कुनै पनि भाइ गरिब भयो भने तिमीहरूको गरिब भाइप्रति तिमीहरूले आफ्नो हृदय कठोर पार्नुहुँदैन न त मुट्ठी बाँध्‍नुहुन्छ । 8 तर तिमीहरूले उसलाई निश्‍चय नै आफ्नो हात खुला गर्नू, र उसको खाँचोको लागि पर्याप्‍त मात्रामा ऋण दिनू । 9 'सातौँ वर्ष अर्थात् छुटकाराको वर्ष नजिकै छ' भनी आफ्नो मनमा दुष्‍ट विचार ननिम्त्याउन होसियार होओ ताकि तिमीहरूका बिचमा भएको गरिब भाइप्रति लोभी नभएर तिमीहरूले उसलाई दिन सक । तिमीहरू लोभी भयौ भने त्यो पाप हुन्छ । 10 निश्‍चय नै तिमीहरूले उसलाई दिनू, र तिमीहरूले उसलाई दिँदा हृदयमा दुःख नमान्‍नू किनकि यसको साटो परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काम र तिमीहरूले हात हाल्ने सबै थोकमा आशिष् दिनुहुने छ । 11 किनकि देशमा गरिबहरूको कहिल्यै अन्त्य हुने छैन । त्यसकारण म तिमीहरूलाई आज्ञा दिन्छु, 'तिमीहरूको देशमा खाँचोमा परेको तिमीहरूका भाइ र गरिबको लागि तिमीहरूले आफ्नो हात खुला राख्‍नू ।' 12 तिमीहरूका हिब्रू भाइ या बहिनी तिमीकहाँ बेचिएको छ र त्यसले छ वर्षसम्म सेवा गरेको छ भने सातौँ वर्षमा तिमीहरूले त्यसलाई स्वतन्त्र भएर जान दिनू । 13 तिमीहरूले त्यसलाई स्वतन्त्र भएर जान दिँदा त्यसलाई रित्तो हात नपठाओ । 14 तिमीहरूका भेडा-बाख्रा, खला र दाखको कोलबाट त्यसलाई प्रशस्त मात्रामा लिएर जान देओ । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएमुताबिक त्यसलाई दिनू । 15 तिमीहरू मिश्र देशमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई छुटकारा दिनुभएको थियो भनी तिमीहरूले याद गर्नू । त्यसकारण आज मैले तिमीहरूलाई यो आज्ञा दिँदै छु । 16 त्यसले तिमीहरू र तिमीहरूको घरलाई माया गरेकोले र तिमीहरूसित राम्ररी बसेकोले 'म तपाईंहरूकहाँबाट जान्‍नँ' भन्यो भने 17 एउटा सुतारो लिएर त्यसको कानको लोती ढोकामा लगाएर छेड्नू, र त्यो जीवनभरि तिमीहरूको कमारो हुने छ । तिमीहरूका कमारीलाई पनि यसै गर्नू । 18 त्यसलाई फुक्‍का भएर जान दिन अप्ठ्यारो नमान्‍नू किनकि त्यसले छ वर्षसम्म तिमीहरूको सेवा गरेको छ र ज्यालादारी व्यक्तिले गर्ने दोब्बर काम गरेको छ । तिमीहरूले गर्ने सबै काममा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुहुने छ । 19 तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका सबै पहिले जन्मेकाहरूलाई परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गर्नू । गाईवस्तुबाट पहिले जन्मेकाहरूलाई कुनै काम नगराउनू न त भेडा-बाख्राबाट पहिले जन्मेकाहरूबाट ऊन कत्रनू । 20 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा वर्षैपिच्छे उहाँको सामु तिमीहरू र तिमीहरूको घरानाले पहिले जन्मेकोलाई खानू । 21 त्यो लङ्गडा वा अन्धा वा त्यसमा कुनै किसिमको खोट छ भने तिमीहरूले त्यो परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु नचढाउनू । 22 त्यसलाई तिमीहरूकै सहरभित्र खानू । हरिण वा मृगको मासु खाएझैँ शुद्ध र अशुद्ध व्यक्तिहरूले समान रूपमा खानू । 23 केवल तिमीहरूले यसको रगतचाहिँ नखानू। पानीझैँ गरी यसलाई भुइँमा पोखाइदिनू ।

< व्यवस्था 15 >