< २ शमूएल 7 >

1 राजाले आफ्नो घर व्यवस्थित गरेपछि र तिनका वरिपरिका सबै शत्रुबाट परमप्रभुले विश्राम दिनुभएपछि, 2 राजाले नतान अगमवक्‍तालाई भने, “हे्र्नुहोस्, म देवदारुको महलमा बसिरहेको छु, तर परमेश्‍वरको सन्दुकचाहिं पालको माझमा रहिरहेको छ ।” 3 त्यसपछी नातानने राजालाई भने, “जानुहोस्, तपाईंको मनमा जे छ सो गर्नुहोस्, किनभने परमप्रभु तपाईंसँग हुनुहुन्छ ।” 4 तर त्यसै रात परमप्रभुको वचन नातानकहाँ यसो भनेर आयो, 5 “जा र मेरो दास दाऊदलाई भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'के तैंले मेरो निम्ति बस्‍नलाई मन्‍दिर बनाउने छस्? 6 किनकि मैले इस्राएलका मानिसलाई मिश्र देशबाट ल्याएको दिनदेखि वर्तमान्‌ समयसम्म नै म मन्‍दिरमा बसेको छैन । बरु, म पालमा अर्थात् पवित्र वासस्थानमा नै घुमिहिंडेको छु । 7 इस्राएलका सबै मानिस माझमा म घुमफिर गरेका सबै ठाउँमा, मेरा मानिस इस्राएलका रेखदेख गर्न मैले नियुक्‍ति गरेका इस्राएलका कुनै पनि अगुवालाई मैले कहिलै यसो भनें र, “तैंले मेरो निम्ति किन देवदारुको मन्‍दिर बनाएको छैनस्?” 8 अब उप्रान्‍त, मेरो सेवक दाऊदलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ, 'मैले तँलाई खर्कबाट, भेडाहरूको पछिपछि हिंड्न छोडेर बोलाएँ, ताकि तैंले मेरा मानिस इस्राएलाई शासन गर्नुपर्छ । 9 तँ जहाँजहाँ गए तापनि म तँसँगै गएको छु । मैले तेरा सबै शत्रुलाई तेरो सामुन्‍नेबाट नामेट पारेको छु । अब म तेरो नाउँलाई पृथ्वीका महान् नाउँहरूजस्तै महान् बनाउने छु । 10 म आफ्‍ना मानिस इस्राएलको निम्ति एउटा स्थान नियुक्‍ति गर्नेछु र तिनीहरूलाई म त्यहाँ राख्‍ने छु, ताकि तिनीहरू आफ्नै ठाउँमा बसोबास गरुन् र फेरि समस्‍या नपरुन् । दुष्‍ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्ने छैनन् । 11 जस्तो मेरा मानिस इस्राएलका निम्ति न्यायकर्ता हुनलाई मैले आज्ञा गरेका दिनहरूदेखि नै तिनीहरूले गरिरहेका थिए । अब तेरा सबै शत्रुबाट म तँलाई विश्राम दिने छु । यसको साथै, म परमप्रभुले तँलाई भन्‍छु कि म तेरो निम्ति एउटा घराना बनाउने छु । 12 जब तेरो दिन पुरा हुने छ र तँ आफ्‍ना पुर्खाहरूसँग सुत्‍ने छस्, तब तँपछिको तेरो सन्तानलाई म खडा गर्ने छु, जो तेरै शरीरबाट आउने छ र म त्यसको राज्य स्थापित गर्ने छु । 13 त्यसैले मेरो नाउँको निम्ति एउटा मन्‍दिर बनाउने छ र म त्यसको सिंहासनलाई सदाको निम्ति स्थापित गर्ने छु । 14 म त्यको बुबा हुने छु र त्यो मेरो छोरा हुने छ । जब त्यसले पाप गर्छ, तब म त्यसलाई मानिसका लोरोले र मानिसका छोराहरूका कोर्राहरूले अनुशासित गर्ने छु । 15 तर मेरो करारको बफदारीताको त्यसलाई छोड्ने छैन, जसरी मैले त्‍यो शाऊलबाट थिएँ, जसलाई मैले तेरो सामुबाट हटाएँ । 16 तेरो घराना र राज्य तेरो सामु सदाको निम्ति सुदृढ गरिने छ । तेरो सिंहसान सदाको निम्ति स्थापित गरिने छ' ।” 17 नातानले दाऊदलाई भने, र तिनले यी सबै वचन तिनला सुनाए र तिनले उनलाई समग्र दर्शनबारे बताए । 18 त्यसपछि राजा दाऊद भित्र गए र परमप्रभुको सामु बसे र यसो भने, “हे परमप्रभु परमेश्‍वर, म को हुँ र मेरो परिवार के हो र मलाई यहाँसम्म ल्याउनुभएको छ? 19 अब हे परमप्रभु परमेश्‍वर, यो तपाईंको दृष्‍टिमा सानो कुरा थियो । हे परमप्रभु परमेश्‍वर, तपाईंको सेवकको घरानामा धेरै समयपछि हुन आउने कुराका बारेमा पनि तपाईंले भन्‍नुभएको छ र भावी पुस्‍ताहरूका बारेमा मलाई प्रकट गर्नुभएको छ । 20 म दाऊदले तपाईंलाई अरू भन्‍न सक्‍छु र? हे परमप्रभु परमेश्‍वर, तपाईंको सेवकलाई तपाईंले चिन्‍नुभएको छ । 21 तपाईंको वचनको खातिर र तपाईंको आफ्नो उद्‍देश्‍य पूरा गर्नलाई, तपाईंले यो ठुलो काम गर्नुभएको छ र तपाईंको सेवकलाई त्‍यो प्रकट गर्नुभएको छ । 22 यसकारण, हे परमप्रभु परमेश्‍वर, तपाईं महान् हुनुहुन्छ, किनकि तपाईंजस्तो कोही पनि छैन र तपाईंबाहेक कुनै परमेश्‍वर छैन, जस्तो हाम्रा आफ्नै कानले हामीले सुनेका छौं । 23 तपाईंको मानिस इस्राएलजस्तो कुन जाति छ, एउटा यस्तो जाति जसलाई तपाईं परमेश्‍वर आफैं गएर छुटकारा दिनुभयो? तपाईंले यो गर्नुभयो ताकि तपाईंको आफ्‍नो नाउँ महान् बनाउन, र तपाईंको देशको निम्ति डरलाग्‍दा कामहरू गर्न तिनीहरू तपाईंका मानिसहरू हुन सकुन् । जातिहरूलाई र तिनीहरूका देवताहरूलाई तपाईंले आफ्‍ना मानिसहरूका सामुबाट धपाउनुभयो, जसलाई तपाईंले मिश्रदेशबाट छुटकारा दिनुभयो । 24 तपाईंले इस्राएललाई सदाको निम्ति आफ्नै मानिसको रूपमा स्थापित गर्नुभयो र तपाईं परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनुभयो । 25 त्यसैले अब, हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्नो सेवक र त्यसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदाको निम्ति स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् । 26 तपाईंको नाउँ सदासर्वदा महान् होस्, ताकि मानिसहरूले भनुन्, 'सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्‍वर हुनुहुन्छ' जति बेला तपाईंको सेकम म, दाऊदको घराना तपाईंको सामु स्थापित हुन्छ । 27 किनकि हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर, आफ्‍नो सेवकको निम्‍ति तपाईंले एउटा घराना निर्माण गर्नुहुने छ भनी तपाईंले उसलाई प्रकट गर्नुभएको छ । यसैले म तपाईंको सेवकले तपाईंसँग प्रार्थना गर्ने आँट गरेको छु । 28 अब हे परमप्रभु परमेश्‍वर, तपाईं परमेश्‍वर हुनुहुन्छ र तपाईंका वचनहरू भरपर्दा छन् र तपाईंले आफ्नो सेवकलाई यो असल प्रतिज्ञा गर्नुभएको छ । 29 अब उप्रान्त, आफ्नो सेवकको घरानालाई आशिष् दिन प्रशन्‍न हुनुहोस्, ताकि तपाईंको सामु यो सदा रहिरहोस् । किनकि हे परमप्रभु, तपाईंले यी कुराहरू भन्‍नुभएको छ र तपाईंको आशिष्‌ले तपाईंको सेवकको घरानाले सदा आशिष् पाउने छ ।

< २ शमूएल 7 >