२ इतिहास 34

1 योशियाहले राज्य सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे । 2 तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो, सो गरे, र आफ्ना पुर्खा दाऊदका चालमा हिंडे र दाहिने वा देब्रेतिर फर्केनन् । 3 किनकि तिनको राजकालको आठौँ वर्षमा, तिनी सानै छँदा नै तिनले आफ्ना पुर्खा दाऊदका परमेश्‍वरलाई खोज्न सुरु गरे । बाह्रौँ वर्षमा तिनले यहूदा र यरूशलेममा भएका डाँडाका थानहरू र अशेरा देवीका खम्बाहरू र खोपेर बनाएका र ढलौटे मूर्तिहरू हटाउन सुरु गरे । 4 मानिसहरूले तिनको उपस्‍थितिमा बाल देवताहरूका वेदीहरू भत्काए । तिनमाथि भएका धूप वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । तिनले अशेरा देवीका खम्बाहरू र मूर्तिहरू र प्रतिमाहरू धुलो टुक्रा-टुक्रा पारेर धुलोपिठो बनाए । तिनलाई बलिदान चढाउने मानिसहरूका चिहानहरूमा त्यो धुलो छरिदिए । 5 तिनका पुजारीहरूका हड्‍डी पनि तिनीहरूकै वेदीहरूमा तिनले जलाइदिए । यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध पारे । 6 तिनले मनश्शे, एफ्राइम, शिमियोन र नप्‍तालीसम्मका सहरहरू र तिनका वरिपरिका भग्‍नावशेषहरूमा पनि त्यसै गरे । 7 तिनले वेदीहरू भत्काए, अशेरा देवीका खम्बाहरू र ढालेर बनाएका मूर्तिहरूलाई धुलोपिठो पारे, र इस्राएलको देशभरि नै भएका धूपका वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । त्यसपछि तिनी यरूशलेममा फर्के । 8 योशियाहले देश र मन्दिर शुद्ध पारिसकेपछि, तिनले आफ्नो राज्य कालको अठारौँ वर्षमा असल्याहका छोरा शापान, सहरका गभर्नर मासेयाह र राज्यका लेखापाल योआहाजका छोरा योआलाई परमप्रभु तिनका परमेश्‍वरको मन्दिर मरम्मत गर्न पठाए । 9 तिनीहरू प्रधान पुजारी हिल्कियाहकहाँ गए र रक्षकको काम गर्ने लेवीहरूले मनश्शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै मानिसहरू र यहूदा, बेन्यामीन र यरूशलेमका सबै बासिन्दाबाट जम्मा गरेर ल्‍याएका रुपियाँपैसा तिनलाई जिम्मा दिए । 10 परमप्रभुको मन्दिरमा काम गर्नेहरूका सुपरिबेक्षण गर्नेहरूका हातमा तिनीहरूले त्यो पैसा दिए । ती मानिसहरूले मन्दिरको मरम्मत र त्यसलाई पुननिर्माण गर्ने कामदारहरूका ज्‍याला तिरे । 11 सिकर्मीहरू र डकर्मीहरूलाई काटेका ढुङ्गाहरू र नाल-दलिनहरू र यहूदाका कुनै राजाहरूले ढालिदिएका दलिनहरू बनाउनलाई काठहरू किन्‍नलाई तिनीहरूले पैसा दिए । 12 यी मानिसहरूले विश्‍वासयोग्य रूपले काम गरे । मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्लामले तिनीहरूका रेखदेख गरे । सङ्गीतमा निपुण अन्य सबै लेवीले कामदारहरूलाई निर्देशन दिए । 13 यी लेवीहरू निर्माण सामाग्री बोक्‍नेहरू र अन्य हरेक काम गर्ने मानिसहरूका निरीक्षकहरू थिए । तिनीमध्ये कोही सचिव, कोही प्रशासकहरू र ढोकाका रक्षकहरू थिए । 14 तिनीहरूले परमप्रभुको मन्दिरमा ल्याएका रुपियाँपैसा बाहिर निकाल्दा हिल्कियाह पुजारीले मोशाद्वारा दिएको परमप्रभुका व्यवस्थाको पुस्तक भेट्टाए । 15 हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु ।” हिल्कियाहले त्यो पुस्तक शापानकहाँ ल्याए । 16 शापानले त्यो पुस्तक राजाकहाँ ल्याए, र यसो भनेर तिनलाई विवरण पनि दिए, “तपाईंका सेवकहरूलाई जिम्‍मा दिइएका सबै काम तिनीहरूले गरिरहेका छन् । 17 तिनीहरूले परमप्रभुको मन्दिरमा पाइएको रुपियाँपैसा खाली गरेका छन् र तिनीहरूले त्‍यो निरीक्षकहरू र कामदारहरूका हातमा दिएका छन् ।” 18 सचिव शापानले राजालाई भने, “पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” त्यसपछि शापानले त्यो पुस्तक राजालाई पढेर सुनाए । 19 यस्‍तो भयो, जब राजाले व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सुने तब तिनले आफ्ना लुगा च्याते । 20 तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका आफ्नै सेवकलाई यस्तो आज्ञा दिए, 21 “जाओ र मेरो निम्ति, अनि इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराका कारणले परमप्रभुको इच्छा खोज । यो साह्रै ठुलो छ, परमप्रभुको क्रोध हामीमाथि खन्‍याइएको छ । साह्रै ठुलो छ किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकमा लेखिएका सबै कुरा पालन गर्नको निम्ति यसको वचन सुनेका छैनन् ।” 22 यसैले हिल्कियाह र राजाले हुकुम गरेका मानिसहरू राजमहलको लुगाफाटो हेरचाह गर्ने हसराका नाति तोखतका छोरा शल्लूमकी पत्‍नी अगमवादिनी हुल्दाकहाँ सोधपुछ गर्नलाई गए (तिनी यरूशलेमको दोस्रो जिल्लामा बस्थिन्), र तिनीहरूले तिनीसँग यसरी कुरा गरे । 23 तिनले तिनीहरूलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्‍वर यो भन्‍नुहुन्‍छ: तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन, 24 ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: हेर्, मैले यहूदाका राजाको सामुन्‍ने पढेको पुस्तकमा लेखिएका सबै सरापहरू यो ठाउँ र त्यसका मानिसहरूमाथि ल्याउन लागेको छु । 25 यस्तो हुनेछ किनकि तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र तिनीहरूका हातले बनाएका सबै कुराले मलाई रिस उठाएका छन्, यसैकारण मेरो क्रोध यस ठाउँमाथि खन्याइने छ, र यो निभाइने छैन’ । 26 तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्‍नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: 27 तेरो हृदय नरम भएको हुनाले, र परमेश्‍वरले यो ठाउँ र यसका बासिन्‍दाहरूका विषयमा भनेका कुरा सुनेर उहाँको सामु तँ विनम्र भएको हुनाले, र तैंले आफूलाई मेरो सामु तँ विनम्र पारेको र आफ्ना लुगा च्यातेको र मेरो उपस्थितिमा रोएको हुनाले, मैले तेरो बिन्‍ती सुनेको छु— यो परमप्रभुको घोषणा हो— 28 हेर्, तेरा पुर्खाहरूसँगै तँलाई म जम्मा गर्नेछु । तँ शान्तिसित आफ्‍नो चिहानमा गाडिनेछस्, र यस ठाउँ र यसका बासिन्दामाथि मैले ल्‍याउने कुनै पनि सर्वनाश तेरा आँखाले देख्‍ने छैनन्’ ।” ती मानिसहरूले यो सन्देश राजाकहाँ पुर्‍याए । 29 त्यसपछि राजाले दूतहरू पठाए र यहूदा र यरूशलेमका सबै धर्म-गुरुहरूलाई भेला गराए । 30 तब राजा र तिनीसँग भएका यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पुजारी र लेवीहरू, साना-ठुला जम्मै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए । तब परमप्रभुको मन्दिरमा फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्‍ने गरी तिनले पढे । 31 राजा आफ्नो स्थानमा खडा भए र परमेश्‍वरलाई पछ्याउन र उहाँका आज्ञा, नियम, र विधिहरू आफ्नो सारा हृदय र प्राणले पालन गर्ने, र यस पुस्तकमा लेखिएका करारका वचनहरू पूरा गर्ने बाचा परमप्रभुको सामुन्‍ने गरे । 32 तिनले यरूशलेम र बेन्यामीनमा उपस्थित भएका सबैलाई त्यो करार अनुसार हिंड्न लगाए । यरूशलेमका बासिन्दाहरूले परमेश्‍वर, तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको करारअनुसार काम गरे । 33 योशियाहले इस्राएलका मानिसहरूका सारा इलाकाबाट सबै घृणित कुराहरू हटाइदिए । तिनले इस्राएलमा बस्‍ने सबैलाई परमप्रभु आफ्ना परमेश्‍वरको आराधना गर्न लगाए । तिनी बाँचुञ्जेल परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको अनुसरण गर्न तिनीहरूले छोडेनन् ।