< २ इतिहास 23 >

1 सातौँ वर्षमा यहोयादाले आफ्‍नो शक्ति प्रकट गरे र तिनले सय-सयका दलका कमाण्‍डरहरू, अर्थात्‌ यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्‍माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार सम्‍झौता गरे । 2 तिनीहरू यहूदाका चारैतिर गए र यहूदाका सबै सहरबाट लेवीहरूका साथै इस्राएलका पुर्ख्‍यौली घरानाका मुखियाहरूलाई भेला गरे र तिनीहरू यरूशलेममा आए । 3 सबै सभाले परमेश्‍वरको मन्‍दिरमा राजासित करार बाँधे । यहोयादाले तिनीहरूलाई भने, “हेर्नुहोस्, परमप्रभुले दाऊदका सन्‍तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैं राजाका छोराले राज्‍य गर्नेछन् । 4 तपाईंहरूले यसो गर्नुपर्छः शबाथमा आफ्‍नो काममा आउने पुजारीहरू र लेवीहरूको एक तिहाइचाहिं ढोकाहरूका रक्षकहरू हुनुपर्छ । 5 अर्को एक तिहाइचाहिं राजमहलमा, र अर्को एक तिहाइचाहिं जगको ढोकामा हुनुपर्छ । सबै मानिसचाहिं परमप्रभुको मन्‍दिरका चोकहरूमा हुनुपर्छ । 6 सेवा गर्ने पुजारीहरू र लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्‍दिरभित्र पस्‍न नदिनू । तिनीहरू भित्र पस्‍न सक्‍छन्, किनभने तिनीहरू अभिषेक गरिएका छन्‌ । तर अरू सबै मानिसले परमप्रभुको आज्ञा मान्‍नुपर्छ । 7 लेवीहरू हरेकले आआफ्‍नो हतियार हातमा बोकेर राजाका चारैतिर सुरक्षा दिनुपर्छ । कोही मन्‍दिरभित्र पस्‍यो भने, त्‍यसलाई मारिनुपर्छ । राजा भित्र आउँदा र बाहिर जाँदा तिनको साथमा हिंड्‍नुपर्छ ।” 8 यसैले यहोयादा पुजारीले आज्ञा गरेबमोजिम लेवीहरू र सबै यहूदाले सेवा गरे । हरेक जनाले शबाथमा सेवा गर्न आएका मानिसहरू, र शबाथमा सेवा गर्न छाडेकाहरूलाई लिए, किनकि यहोयादा पुजारीले कुनै पनि दललाई हटाएका थिएनन्‌ । 9 त्‍यसपछि कमाण्‍डरहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका दाऊद राजाका भालाहरू, र साना तथा ठूला ढालहरू ल्‍याइदिए । 10 यहोयादाले सबै फौजलाई आफ्‍नो हातमा हतियार लिई मन्दिरको दाहिनेदेखि देब्रेपट्टिसम्म राजालाई घेर्न वेदी र मन्‍दिरको छेउमा राखे । 11 तब तिनीहरूले राजाका छोरालाई बाहिर ल्‍याए, तिनको शिरमा मुकुट लगाइदिए र तिनलाई करार-पत्र दिए । तब तिनीहरूले तिनलाई राजा बनाए र यहोयादा र तिनका छोराहरूले तिनलाई अभिषेक गरे । त्यसपछि तिनीहरूले भने, “राजा अमर रहून् ।” 12 जब मानिसहरू दौडिरहेका र राजाको जयजयकार गरिरहेका हल्‍ला अतल्‍याहले सुनिन्, तब तिनी परमप्रभुको मन्‍दिरमा तिनीहरूकहाँ आइन्‌, 13 र तिनले हेरिन् र हेर, राजा आफ्‍नो स्‍तम्‍भको छेउमा ढोकानेर खडा थिए र कमाण्‍डरहरू र तुरही फुक्‍नेहरू राजाका छेउमा थिए । देशका सबै मानिसहरूले उत्‍सव मनाउँदै र तुरही बजाउँदै थिए । अनि गायकहरूले बाजाहरू बजाउँदै थिए र प्रशंसाको गानको नेतृत्‍व गरिरहेका थिए । तब अतल्‍याहले आफ्‍ना लुगा च्‍यातिन्‌ र कराएर भनिन्, “राजद्रोह! राजद्रोह!” 14 तब यहोयादा पुजारीले फौजका सय-सयका दलका कमाण्डरहरूलाई बाहिर ल्‍याए र तिनीहरूलाई भने, “तिनलाई मन्‍दिरको बाहिर ल्‍याओ । तिनको पछि लाग्‍ने कुनै पनि व्‍यक्ति तरवारले मारियोस् ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्‍दिरमा नमार ।” 15 यसैले तिनी राजाको घोडा ढोकामा आएको बेला तिनीहरूले तिनलाई समाते र तिनलाई त्यहीं मारे । 16 त्‍यसपछि यहोयादाले आफै र सबै मानिस र राजाको बिचमा तिनीहरू परमप्रभुको मानिस हुनुपर्छ भनी करार बाँधे । 17 यसैले सबै मानिसहरू बालको मन्‍दिरमा गए र त्यसलाई भत्‍काए । बालका वेदीहरू र त्‍यसका मूर्तिहरूलाई तिनीहरूले टुक्रा-टुक्रा पारे, र बालको पुजारी मत्तानलाई वेदीहरूका अगि मारे । 18 यहोयादाले परमप्रभुका मन्‍दिरको हेर-विचार गर्नको निम्ति पुजारीहरूका अधीनमा अधिकृतहरूको नियुक्ती गरे, जो लेवीहरू थिए । आफ्‍नो समयदेखि नै स्‍तुतिगान गर्दै र आनन्‍द मनाउँदै मोशाको व्‍यवस्‍थामा तोकिएबमोजिम र दाऊदले दिएको निर्देशन बमोजिम परमप्रभुको निम्‍ति होमबलि चढाउन र परमप्रभुको मन्‍दिरमा काम गर्न दाऊदले तिनीहरूलाई खटाइदिएका थिए । 19 अशुद्ध भएको कुनै मानिसलाई भित्र पस्‍न नदिनलाई यहोयादाले परमप्रभुको मन्‍दिरका मूल ढोकाहरूमा रक्षकहरू राखिदिए । 20 यहोयादाले सयका कमण्‍डरहरू, भारदारहरू, मानिसका गभर्नरहरू र देशका सारा मानिसहरूलाई लिए । तिनले राजालाई परमप्रभुको मन्‍दिरबाट तल ल्‍याए । मानिसहरू माथिल्‍लो ढोकाबाट भएर राजमहलमा पसे, र राजालाई सिंहासनमा बसाले । 21 यसरी देशका सारा मानिसहरू आनन्‍दित भए, र सहरमा शान्‍ति भयो । अतल्‍याहलाई तिनीहरूले तरवारले मारेका थिए ।

< २ इतिहास 23 >