१ राजाहरू 22

1 अराम र इस्राएलको बिचमा युद्ध नभई तिन वर्ष बित्यो । 2 तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजाकहाँ गए । 3 इस्राएलका राजाले आफ्ना अधिकारीहरूलाई भनेका थिए, “के रामोत-गिलाद हाम्रै हो भनी तिमीहरूलाई थाहा छ? तर अरामका राजाका हातबाट यसलाई लिन हामीले केही पनि गरिरहेका छैनौँ ।” 4 त्यसैले तिनले यहोशापातलाई भने, “के तपाईं युद्ध गर्नलाई मसितै रामोत-गिलादमा जानुहुन्छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिस तपाईंका मानिसजस्तै हुन् र मेरा घोडाहरू तपाईंका घोडाहरू जस्तै हुन् ।” 5 यहोशापातले इस्राएलका राजालाई भने, “पहिले तपाईंले के गर्नुपर्छ भन्नाका लागि परमप्रभुको वचनबाट निर्देशन खोज्नुहोस् ।” 6 तब इस्राएलका राजाले चार सय अगमवक्तालाई जम्मा गरी तिनीहरूलाई भने, “म रामोत-गिलादमा युद्ध गर्न जाऊँ कि नजाऊँ? तिनीहरूले जवाफ दिए, “आक्रमण गर्नुहोस्, किनकि परमप्रभुले यो राजाका हातमा सुम्पिदिनुहुने छ ।” 7 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका अर्का कुनै अगमवक्ता छैनन् जसबाट हामीले सल्लाह लिन सक्छौँ?” 8 इस्राएलका राजाले यहोशापातलाई भने, “एक जना मानिस छन् जसबाट हामीले मदतको लागि परमप्रभुबाट सल्लाह लिन सक्छौँ । तिनी यिम्लाका छोरा मीकाया हुन्, तर म तिनलाई घृणा गर्छु किनकि तिनले मेरो बारेमा कुनै असल कुरोको भविष्यवाणी गर्दैनन्, केवल खरावी मात्र बोल्छन् ।” तर यहोशापातले भने, “राजाले यस्तो भन्नुहुँदैन ।” 9 तब इस्राएलका राजाले एक जना अधिकारीलाई बोलाई तिनलाई हुकुम गरे, “ठिक अहिले नै इम्लाका छोरा मीकायालाई ल्याउनू ।” 10 इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात राजकीय पोशाक पहिरेर सामरियाको मूल ढोकाको खुला ठाउँमा आ-आफ्नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोल्दै थिए । 11 केनानका छोरा सिदकियाहले चाहिँ फलामका सिङहरू बनाएका थिए । तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'अरामीहरू नष्ट नभएसम्म तिमीहरूले तिनीहरूलाई यसैले दण्ड दिनू' ।” 12 तब सबै अगमवक्ताले यसो भनी अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गरी विजयी हुनुहोस् किनकि परमप्रभुले यो राजाको हातमा सुम्पिदिनुभएको छ ।” 13 मीकायालाई बोलाउन गएका सन्देशवाहकले तिनलाई भने, “अब हेर्नुहोस्, अगमवक्ताहरूका वचनहरूले एउटै मुखले राजालाई असल कुरा भन्छन् । तपाईंको वचन तिनीहरूको जस्तै होस् र असल कुराहरू भन्नुहोस् ।” 14 मीकायले जवाफ दिए, “परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, कि परमप्रभुले मलाई जे भन्नुहुन्छ, म त्यही भन्ने छु ।” 15 जब तिनी राजाकहाँ आए राजाले तिनलाई भने, “मीकाया, हामी युद्धको लागि रामोत-गिलादमा जाऊँ कि नजाऊँ?” मीकायाले तिनलाई जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस् । परमप्रभुले यो तपाईंको हातमा सुम्पिदिनुहुने छ ।” 16 तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा अरू कुरा नभनी साँचो कुरा मात्र भन्नू भनी म तिमीलाई कति पटक शपथ खान लगाऊँ?” 17 तब मीकायाले भने, “मैले गोठाला नभएका भेडाझैँ सारा इस्राएल पहाडहरूतिर तितर-बितर भएको देखेँ, र परमप्रभुले भन्नुभयो, 'तिनीहरूसित कुनै गोठालो छैन । हरेक मानिस शान्तिसित आफ्नै घरमा फर्कोस्' ।” 18 त्यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल कुरा नभई केवल विपत्तिको बारेमा अगमवाणी बोल्छन् भनी के मैले तपाईंलाई भनेको होइन र?” 19 तब मीकायाले भने, “त्यसकारण परमप्रभुको वचन सुन्नुहोस्: मैले परमप्रभुलाई उहाँको सिंहासनमा विराजमान हुनुभएको अनि उहाँको दाहिने र देब्रे हातपट्टि उहाँनेर सबै स्वर्गीय सेना उभिरहेका देखेँ । 20 परमप्रभुले भन्नुभयो, 'आहाब रामोत-गिलादमा उक्लेर गई त्यहाँ त्यसको पतन होस् भन्नाका लागि त्यसलाई कसले बहकाउने छ?’ एउटाले एउटा कुरा भन्यो र अर्कोचाहिँले अर्कै कुरा भन्यो । 21 तब एउटा आत्मा अगाडि बढी त्यो परमप्रभुको सामु उभियो । त्यसले भन्यो, 'म तिनलाई उक्साउने छु ।' परमप्रभुले त्यसलाई भन्नुभयो, 'कसरी?’ 22 आत्माले जवाफ दियो, 'म बाहिर जाने छु, र तिनका सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा बन्ने छु ।' परमप्रभुले भन्नुभयो, 'तैँल त्यसलाई बहकाउने छस्, र तँ सफल पनि हुने छस् । अब जा र त्यसै गर् ।' 23 त्यसैले अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा हालिदिनुभएको छ, र परमप्रभुले तपाईंको लागि विपत्तिको घोषणा गर्नुभएको छ ।” 24 तब केनानका छोरा सिदकियाह माथि उक्लेर आई मीकायाको गालामा थप्पड हानेर भने, “तिमीसित बोल्न परमप्रभुका आत्मा मबाट कुनचाहिँ बाटो भएर जानुभयो त?” 25 मीकायाले भने, “हेर, तिमी भित्र कोठामा लुक्न जाँदा त्यस दिन तिमी आफैले देख्ने छौ ।” 26 इस्राएलका राजाले आफ्ना अधिकारीलाई हुकुम दिए, “मीकायालाई समात्, अनि त्यसलाई सहरका शासक र मेरो छोरा योआशकहाँ लैजा ।” 27 त्यसलाई भन्, ‘राजा भन्नुहुन्छः यो मानिसलाई झ्यालखानामा हाल्, र म सुरक्षितसाथ नफर्केसम्म त्यसलाई थोरै रोटी र थोरै पानी मात्र खुवाउनू' ।” 28 तब मीकायाले भने, “तपाईं सुरक्षितसाथ आउनुभयो भने परमप्रभुले मद्वारा बोल्नुभएको होइन ।” तब तिनले थपे, “हे सारा मानिस हो, यो कुरा सुन ।” 29 त्यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए । 30 इस्राएलका राजाले यहोशापातलाई भने, “म भेष बद्लेर युद्धमा जाने छु, तर तपाईंले आफ्नो राजकीय पोशाक पहिरिनुहोस् ।” त्यसैले इस्राएलका राजाले भेष बद्ले, र तिनी युद्धमा गए । 31 अरामका राजाले आफ्ना रथहरूका बत्तिस जना सेनापतिलाई यसो भनी आज्ञा दिएका थिए, “साना-ठुला जोसुकैलाई आक्रमण नगर्नू । बरु, इस्राएलका राजालाई मात्र आक्रमण गर्नू ।” 32 जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले भने, “निश्चय नै यिनी इस्राएलका राजा हुन् ।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्कंदा यहोशापात चिच्च्याए । 33 तिनी इस्राएलका राजा होइनन् रहेछ भनी जब रथहरूका सेनापतिहरूले देखे तिनीहरू तिनको पिछा गर्नबाट फर्के । 34 तर एक जना सेनापतिले जथाभावी काँड हाने, र त्यस काँडले इस्राएलका राजाको कवचको जोर्नीमा लाग्यो । तब आहाबले आफ्नो सारथीलाई भने, “फर्की, र मलाई युद्धबाट बाहिर लैजा, किनकि मलाई बेसरी चोट लागेको छ ।” 35 त्यस दिन युद्ध झन् चर्कंदै गयो, र आफ्ना रथमा अडिएर राजाले अरामीहरूको सामना गरिरहे । साँझमा तिनी मरे । तिनको घाउबाट निस्केको रगतचाहिँ रथभित्रै बगिरहेको थियो । 36 तब सूर्य अस्ताउँदै गर्दा सेनाका बिचमा एउटा यस्तो आवाज फैलियो, “हरेक मानिस आ-आफ्नो सहरमा फर्केर जाओस्, र हरेक मानिस आ-आफ्नो बस्तीमा फर्केर जाओस् ।” 37 यसरी राजा आहाब मरे, र तिनलाई सामरियामा लगी त्यहीँ नै गाडियो । 38 तिनीहरूले रथलाई सामरियाको तलाउमा धोए, र परमप्रभुको वचनले घोषणा गरेझैँ कुकुरहरूले तिनको रगत चाटे (यहीँ नै वेश्याहरू नुहाउने गर्थे) । 39 के आहाबले गरेका अरू कार्यहरू, तिनले बनाएको हस्ती-हाडको महलसाथै सबै सहरहरूको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 40 यसरी आहाब आफ्ना पित्रहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा अहज्याह राजा भए । 41 इस्राएलका राजा आहाबको चौथो वर्षमा आसाका छोरा यहोशापातले यहूदामाथि शासन गर्न थाले । 42 यहोशापातले शासन गर्न थाल्दा तिनी पैँतिस वर्षका थिए, र तिनले यरूशलेममा पच्चिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अजूबा थियो, जो शिल्हीकी छोरी थिइन् । 43 तिनी आफ्ना पिता आसाका मार्गमा हिँडे । तिनी तीबाट फर्केनन् । तिनले परमप्रभुको दृष्टिमा जे ठिक छ, त्यही गरे । तथापि डाँडाका थानहरू भने हटाइएनन् । मानिसहरूले डाँडाका थानहरूमा अझै पनि बलिदान चढाउँदै थिए, र धूप बाल्दै थिए । 44 यहोशापात इस्राएलका राजासित शान्तिमा रहे । 45 के यहोशापातका अरू कार्यहरू, तिनले देखाएका शक्ति र कसरी तिनले युद्ध लडे भन्ने विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 46 तिनका पिता आसाको समयसम्म बाँकी रहेका झुटो धर्मसम्बन्धी वेश्याहरूलाई तिनले देशबाट हटाए । 47 एदोममा कुनै राजा थिएन, तर त्यहाँ सहायकले शासन गर्थ्यो । 48 यहोशापातले समुद्रमा आवात-जावत गर्ने जहाजहरू बनाए । ती सुनको लागि ओपीरमा जानुपर्थ्यो, तर एस्योन-गेबेरमा ध्वंश भएको कारण ती जान सकेनन् । 49 तब आहाबका छोरा अहज्याहले यहोशापातलाई भने, “यी जहाजहरूमा मेरा अधिकारीहरूलाई तपाईंका अधिकारीहरूसँगै जान दिनुहोस् ।” तर यहोशापातले अनुमति दिएनन् । 50 यहोशापात आफ्ना पित्रहरूसित सुते, र तिनीहरूसितै आफ्ना पुर्खा दाऊदको सहरमा गाडिए । तिनको ठाउँमा तिनका छोरा यहोराम राजा भए । 51 यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा आहाबका छोरा अहज्याहले सामरियामा बसेर इस्राएलमाथि शासन गर्न थाले, र तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे । 52 तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र तिनका बुबाआमाको चालमा हिँडे अनि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको मार्गमा हिँडे । 53 तिनले आफ्ना पिताले गरेझैँ बालको सेवा गरे, त्यसको पुजा गरे अनि इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए ।