< १ राजाहरू 11 >

1 अब राजा सोलोमनले फारोकी छोरीलगायत मोआबी, अम्मोनी, सीदोनी र हित्तीजस्ता धेरै विदेशी स्त्रीहरूलाई प्रेम गरे । 2 तिनीहरू त्यस्ता जातिहरूका थिए जसको बारेमा परमप्रभुले इस्राएललीहरूलाई भन्नुभएको थियो, “विवाह गर्न तिनीहरूका बिचमा नजाओ, न त तिनीहरू तिमीहरूका बिचमा आऊन् किनकि निश्चय नै, तिनीहरूले तिमीहरूका ह्रदय तिनीहरूका देवताहरूतर्फ फर्काउने छन् ।” यस आज्ञाको बाबजुत पनि सोलोमन यी स्त्रीहरूप्रति मोहित भए । 3 सोलोमनका सात सय जना राजकीय पत्नी र तिन सय जना उपपत्नी थिए । तिनका पत्नीहरूले तिनको ह्रदयलाई बहकाइदिए । 4 किनकि जब सोलोमन वृद्ध भए तिनका पत्नीहरूले तिनको ह्रदयलाई अन्य देवताहरूतर्फ फर्काइदिए । तिनको ह्रदय तिनका पिता दाऊदको ह्रदयजस्तै परमप्रभु तिनका परमेश्वरतर्फ पूर्ण रूपमा समर्पित भएन । 5 किनकि सोलोमन सीदोनीहरूकी देवी अश्तोरेत र अम्मोनीहरूको घिनलाग्दो देवता मोलोखको पछि लागे । 6 सोलोमनले परमप्रभुको दृष्टिमा दुष्ट काम गरे । तिनले आफ्ना पिता दाऊदले गरेझैँ पूर्ण रूपमा परमप्रभुलाई पछ्याएनन् । 7 तब सोलोमनले मोआबको घृणित देवता कमोश र अम्मोनीहरूको घृणित देवता मोलोखको निम्ति यरूशलेमको पूर्वपट्टिको डाँडामा पुजा गर्ने अग्लो स्थान बनाए । 8 तिनले आफ्ना सबै विदेशी पत्नीका निम्ति पनि पुजा गर्ने अग्लो स्थानहरू बनाए जसले त्यहाँ तिनीहरूका देवताहरूलाई धूप बाल्ने र बलिदान चढाउने गर्थे । 9 परमप्रभु सोलोमनसित रिसाउनुभयो, किनकि तिनको ह्रदय इस्राएलका परमेश्वरबाट तर्केर गएको थियो यद्यपि उहाँ तिनीकहाँ दुई पटक देखा पर्नुभएको थियो, 10 र यसै विषयमा अर्थात् तिनी अरू देवताहरूको पछि लाग्न हुँदैन भनी उहाँले तिनलाई आज्ञा दिनुभएको थियो । तर सोलोमनले परमप्रभुको आज्ञा मानेनन् । 11 त्यसकारण परमप्रभुले सोलोमनलाई भन्नुभयो, “तैँले यसो गरेको कारण र तैँले मेरो करार र मैले तँलाई आज्ञा गरेका मेरा विधिविधानहरू पालन नगरेकोले निश्चय नै म यो राज्य तँबाट खोसेर तेरो दासलाई दिने छु । 12 तथापि तेरा पिता दाऊदको खातिर म तेरो जीवनकालमा यसो गर्दिनँ, तर तेरो छोरोको पालमा त्यसको हातबाट म यसलाई विभाजन गरिदिने छु । 13 तापनि म सबै राज्य खोस्दिनँ । मेरा दास दाऊदको खातिर र मैले चुनेको यरूशलेमको खातिर म एउटा कुल तेरो छोरोलाई दिने छु ।” 14 तब परमप्रभुले सोलोमनको विरुद्धमा एदोमी हददलाई विरोधीको रूपमा उठाउनुभयो । तिनी एदोमको राजकीय घरानाका थिए । 15 दाऊद एदोममा छँदा सेनापति योआब मरेकाहरूको लाश गाड्न एदोममा उक्लेका थिए जहाँ हरेक पुरुष मारिएको थियो । 16 योआबले एदोमको हरेक पुरुषलाई नमारुञ्जेल तिनी र इस्राएल त्यहाँ छ महिनासम्म बसेका थिए । 17 तर त्यस बेला हदद बालक भएकोले आफ्ना पिताका सेवकहरूद्वारा तिनलाई अन्य एदोमीहरूसँगै मिश्रमा लगिएको थियो । 18 तिनीहरू मिद्यानबाट निस्केर पारानमा आइपुगे जहाँबाट तिनीहरूले आफूसँगै केही मानिसहरूलाई मिश्रका राजा फारोकहाँ लिएर गए । फारोले तिनलाई एउटा घर, देश र भोजन जुटाइदिएका थिए । 19 हददले फारोको दृष्टिमा ठुलो निगाह पाए र फारोले तिनलाई आफ्नी पत्नी तहपेनस रानीकी एउटी बहिनीसित विवाह गरिदिए । 20 तहपेनसकी बहिनीले हददबाट एउटा छोरो जन्माइन् । तिनीहरूले तिनलाई गनूबत नाम राखे । तहपेनसले तिनलाई फारोको राजदरबारमा हुर्काइन् । त्यसैले गनूबत फारोका छोराछोरीहरूका बिचमा राजदरबारमा हुर्किए । 21 तिनी मिश्रमा छँदा दाऊद आफ्ना पुर्खाहरूसित मिल्न गए र सेनापति योआब मरे भनी जब हददले सुने तिनले फारोलाई भने, “मेरो आफ्नै देशमा जानलाई मलाई अनुमति दिनुहोस् ।” 22 तब फारोले तिनलाई भने, “तर तिमीलाई यहाँ मसित केको अभाव छ र तिमी आफ्नै देशमा जान खोज्छौ?” हददले जवाफ दिए, “कुनै कुराको अभाव छैन । कृपया, मलाई जान दिनुहोस् ।” 23 परमेश्वरले सोलोमनको विरुद्धमा एल्यादाका छोरा रेसोनलाई पनि विरोधीको रूपमा उठाउनुभयो । तिनी आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेका थिए । 24 दाऊदले सोबाका मानिसहरूलाई पराजित गर्दा रेसोनले आफ्ना लागि मानिसहरू भेला गरे र तिनी सानो मोर्चाका सेनापति बनेका थिए । रेसोनका मानिसहरू दमस्कस गए, र त्यहीँ बसोबास गरे । यसरी रेसोनले दमस्कसलाई नियन्त्रणमा लिए । 25 तिनी सोलोमनको जीवनभर इस्राएलका शत्रु थिए, र हददले पुर्‍याउएको सङ्कष्टमा तिनले पनि साथ दिए । रेसोन इस्राएललाई घृणा गर्थे र तिनले अराममाथि शासन गरे । 26 तब नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए । तिनी सोलोमनका एक जना अधिकारी जेरेदाका एफ्राइमी थिए । तिनकी विधवा आमा सेरूआ थिइन् । 27 तिनी राजाको विरुद्धमा उठे किनकि सोलोमनले टेवा दिने गाराहरू बनाएका थिए, र आफ्ना पिता दाऊदको सहरको पर्खालमा प्रवेशद्वार मर्मत गरेका थिए । 28 यारोबाम एक शक्तिशाली मानिस थिए । तिनी मेहनती भएको देखेर सोलोमनले तिनलाई योसेफका घरानाका सारा बेगार काम गर्नेहरूमाथि तिनलाई नाइके तुल्याएका थिए । 29 त्यस बेला यारोबाम यरूशलेममा जाँदा शीलोका अहियाह अगमवक्ताले तिनलाई बाटोमा भेटे । अहियाहले नयाँ खास्टो लगाएका थिए र मैदानमा दुई जना मानिस मात्र थिए । 30 तब अहियाहले आफूले लगाएको नयाँ खास्टो निकाली त्यसलाई च्यातेर बाह्र टुक्रा बनाए । 31 तिनले यारोबामलाई भने, “दसवटा टुक्रा लिनुहोस्, किनकि इस्राएलका परमेश्वर परमप्रभु यसो भन्नुहुन्छ, 'हेर्, म सोलोमनको हातबाट राज्य टुक्रा पारेर तँलाई दस कुल दिने छु, 32 (तर मेरा दास दाऊदको खातिर र मैले इस्राएलका सबै कुलबाट चुनेको सहर यरूशलेमको खातिर सोलोमनलाई एउटा कुल दिने छु), 33 किनकि तिनीहरूले मलाई त्यागेर सीदोनीहरूकी अश्तोरेत देवी, मोआबको कमोश देवता र अम्मोनीहरूको मोलोख देवतालाई पुजा गरेका छन् । आफ्ना पिता दाऊदले गरेझैँ मेरो दृष्टिमा जे ठिक छ त्यही गर्न र मेरा विधिविधानहरूसाथै मेरा उर्दीहरू पालन गर्न त्यो मेरो मार्गमा हिँडेको छैन । 34 तथापि म सोलोमनको हातबाट पुरै राज्य भने खोस्दिनँ । बरु, मेरा आज्ञाहरू र मेरा विधिविधानहरू पालन गर्ने मैले चुनेका मेरा दास दाऊदको खातिर मैले त्यसलाई त्यसको जीवनभर शासक बनाएको छु । 35 तर म त्यसको छोरोको हातबाट राज्य खोसेर म दस कुललाई दिने छु । 36 म एउटा कुल सोलोमनको छोरोलाई दिने छु ताकि मेरो नाउँ राख्न मैले चुनेको सहर यरूशलेममा मेरो सामु मेरा दास दाऊदको एउटा बत्ती सधैँ बलिरहोस् । 37 म तँलाई चाहिँ लिने छु, र तैँले इच्छा गरेअनुसार तैँले शासन गर्ने छस्, र तँ इस्राएलमाथि राजा हुने छस् । 38 मेरा दास दाऊदले गरेझैँ मैले तँलाई दिएका सबै आज्ञा तैँले मानिस्, र मेरो दृष्टिमा जे ठिक छ त्यही गरिस्, र मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न मेरा मार्गहरूमा हिँडिस् भने म तँसित हुने छु, र दाऊदको निम्ति निर्माण गरेझैँ म तेरो वंशलाई स्थिर गराउने छु, अनि इस्राएलचाहिँ म तँलाई दिने छु । 39 म दाऊदका सन्तानहरूलाई दण्ड दिने छु, तर सदाको निम्ति भने होइन ।” 40 त्यसैले सोलोमनले यारोबामलाई मार्न खोजे । तर यारोबाम उठेर मिश्रका राजा शीशककहाँ भागे । सोलोमनको मृत्यु नहोउञ्जेलसम्म तिनी मिश्रमा नै बसे । 41 सोलोमनले गरेका अन्य कामहरू र तिनको बुद्धिको विषयमा के सोलोमनको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 42 सोलोमनले यरूशलेममा बसी सारा इस्राएलमाथि चालिस वर्षसम्म शासन गरे । 43 तिनी आफ्ना पित्रहरूसित सुते, र तिनलाई तिनका पिता दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा रहबाम राजा भए ।

< १ राजाहरू 11 >