< रोमी 3 >

1 त्यसो भए यहूदीलाई के फाइदा छ त? अनि खतनाको के फाइदा छ त? 2 यो हरतरहले महान् छ । सर्वप्रथम त परमेश्‍वरको प्रकाश यहूदीलाई सुम्पिएको थियो । 3 किनकि केही यहूदीहरू विनाविश्‍वासका भए भन्दैमा के भयो त? के तिनीहरूको अविश्‍वासले परमेश्‍वरको विश्‍वासयोग्यतालाई अमान्य तुल्याउँछ र? 4 कहिल्यै यस्तो नहोस् । यसको सट्टा, सबै मानिस झुटा ठहरिए तापनि परमेश्‍वर नै सत्य भेट्टाइनुभएको होस् । यस्तो लेखिएको छ, “तपाईंलाई आफ्ना वचनहरूमा धर्मी देखाइयोस्, अनि न्यायको दिनमा आउनुहुँदा तपाईं विजय हुनसक्‍नुभएको होस् ।” 5 तर यदि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्‍न सक्छौ र? परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुहुँदा उहाँ अधर्मी ठहरिनुहुन्‍न, के अधर्मी ठहरिनुहुन्छ त? म मानवीय तर्कअनुसार बोलिरहेको छु । 6 कहिल्यै यस्तो नहोस्! किनकि त्यसो भए त परमेश्‍वरले कसरी संसारको न्याय गर्नुहुन्छ? 7 तर यदि मेरो झुटद्वारा परमेश्‍वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ त? 8 किन नभनौँ, जसरी हामीलाई झुटो रूपमा आरोप लगाइन्छ, र केहीले पुष्‍टि गर्छन्, कि हामी भन्छौँ, “दुष्‍ट काम गरौँ, ताकि असल आओस् ।” तिनीहरूमाथिको न्याय उचित छ । 9 त्यसो भए के त? के हामी आफैँले आफ्‍नो सफाइ दिँदै छौँ? त्यसो नहोस्! किनकि यहूदीहरू र ग्रिकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौँ । 10 यस्तो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन । 11 बुझ्ने कोही पनि छैन । परमेश्‍वरलाई खोज्‍ने कोही पनि छैन । 12 तिनीहरू सबै तर्केर गएका छन् । तिनीहरू सबै जना एकैसाथ अनुपयोगी भएका छन् । असल गर्ने कोही पनि छैन, अहँ, एक जना पनि छैन । 13 तिनीहरूको घाँटी खुल्ला चिहान हो । तिनीहरूका जिब्राले छल गरेका छन् । तिनीहरूका ओठहरूमा सर्पको विष छ । 14 तिनीहरूका मुख श्राप र तिक्‍तताले भरिएका छन् । 15 तिनीहरूका खुट्टा रगत बगाउनमा द्रूत छन् । 16 विनाश र कष्‍ट तिनीहरूका मार्गहरूमा छन् । 17 यी मानिसहरूले शान्तिको मार्ग जानेका छैनन् । 18 तिनीहरूका आँखाको सामुन्‍ने परमेश्‍वरको डर छैन । 19 अब हामी जान्दछौँ, कि व्यवस्थाले जे भन्दछ त्यो व्यवस्थाको अधीनमा बस्‍नेहरू कै लागि भन्छ । यो हरेक मुख बन्द होस् भन्‍नाका लागि हो, ताकि सारा संसार परमेश्‍वरप्रति जवाफदेही हुन सकून् । 20 उहाँको दृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ । 21 तर अब व्यवस्थाविना नै परमेश्‍वरको धर्मीकता प्रकट गरिएको छ । यसलाई व्यवस्था र अगमवक्‍ताहरूद्वारा साक्षी दिइएको छ, 22 अर्थात् यो विश्‍वास गर्ने सबैका निम्ति येशू ख्रीष्‍टमा विश्‍वासद्वारा आउने परमेश्‍वरको धार्मिकता हो । किनकि त्यहाँ कुनै भेदभाव छैन । 23 किनकि सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमासम्म पुग्‍न चुकेका छन् । 24 ख्रीष्‍टमा भएको छुटकाराद्वारा तिनीहरू सित्तैँमा धर्मी ठहराइन्छन् । 25 किनकि परमेश्‍वरले येशू ख्रीष्‍टको रगतमा विश्‍वासद्वारा प्रायश्‍चित्तको रूपमा उहाँलाई अर्पण गर्नुभयो । उहाँको धैर्यमा विगतका पापको बेवास्ता गर्नुभएकोले उहाँले ख्रीष्‍टलाई उहाँको न्यायको प्रमाणको रूपमा अर्पण गर्नुभयो । 26 यी सबै कुरा वर्तमान समयमा उहाँको धार्मिकता प्रदर्शन गर्नका निम्ति भएका थिए । उहाँ आफैँलाई न्यायी प्रमाणित गर्न सक्‍नुभएको होस् र उहाँले येशूमाथिको विश्‍वासले कुनैलाई पनि धर्मी ठहराउनुहुन्छ भन्‍ने देखाउन यसो भयो । 27 घमण्ड कहाँ गर्ने? यो त हटाइएको छ । केको आधारमा? कामहरूको आधारमा? होइन, तर विश्‍वासको आधारमा हो । 28 तब हामी निचोडमा आउँछौँ, कि कुनै पनि व्यक्‍ति व्यवस्थाका कामहरूविना नै विश्‍वासद्वारा धर्मी ठहरिन्छ । 29 अथवा के परमेश्‍वर यहूदीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका परमेश्‍वर हुनुहुन्‍न र? हो, उहाँ गैरयहूदीहरूका पनि परमेश्‍वर हुनुहुन्छ । 30 यदि वास्तवमै परमेश्‍वर एक हुनुहुन्छ भने उहाँले खतना भएकाहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्छ, र खतना नभएकाहरूलाई पनि विश्‍वासद्वारा नै धर्मी ठहराउनुहुन्छ । 31 के हामीले विश्‍वासद्वारा व्यवस्थालाई रद्द गर्छौं त? कहिल्यै यस्तो नहोस्! बरु, हामीले व्यवस्थालाई कायम पो राख्‍छौँ ।

< रोमी 3 >