< हितोपदेश 27 >

1 भोलीको विषयमा घमण्ड नगर्, किनकि एकै दिनमा के आइपर्छ भनी तँलाई थाहा छैन । 2 कसैले तेरो प्रशंसा गरोस्, तेरै आफ्नै मुखले होइन; परदेशीले गरोस्, तेरो ओठले होइन । 3 ढुङ्गाको बोझ र बालुवाको ओजनलाई विचार गर् । मूर्खको चिढ्याइ ती दुवैभन्दा गरुङ्गो हुन्छ । 4 झोँकको क्रोध र रिसको बाढी छ, तर डाहको सामु को खडा हुन सक्छ र? 5 गुप्‍त प्रेमभन्दा खुला हप्की बेस हो । 6 मित्रले दिएको चोट पत्यारलाग्दो हुन्छ, तर शत्रुले तँलाई प्रचुर मात्रामा चुम्बन गर्न सक्छ । 7 पेटभरि खाएको मानिसले महको चाकालाई पनि इन्कार गर्छ, तर भोकाएको व्यक्तिलाई हरेक तितो कुरो मिठो लाग्छ । 8 आफ्नो गुँडबाट भट्किएर निस्केको चरा आफ्नो बासस्थानबाट बरालिएको मानिसझैँ हुन्छ । 9 अत्तर र धूपले हृदयलाई आनन्द दिन्छ, तर मित्रको मिठास उसको इमानदार सल्लाहबाट आउँछ । 10 आफ्नो मित्र र मित्रको बुबालाई नत्याग्, अनि तेरो विपत्तिको दिनमा तेरो भाइको घरमा नजा । टाढाको भाइभन्दा नजिकको छिमेकी उत्तम हुन्छ । 11 हे मेरो छोरो, बुद्धिमान हो, र मेरो हृदयलाई आनन्दित तुल्या । तब मेरो खिल्ली उडाउनेलाई म जवाफ दिने छु । 12 विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ । 13 परदेशीको जमानी बस्‍नेको खास्टो पनि खोस्‍नू, र त्यसले अनैतिक स्‍त्रीको लागि यसो गरेको भए त्यो धरौटी राख्‍नू । 14 कसैले आफ्नो छिमेकीलाई बिहान सबेरै चर्को सोरमा आशिष् दिन्छ भने, त्यो आशिष्‌लाई श्राप ठानिन्छ । 15 झगडालु पत्‍नी वर्षाको समयमा एकहोरो तपतप चुहुने झरीजस्तै हो । 16 त्यसलाई नियन्त्रण गर्नु बतासलाई नियन्त्रण गर्नुझैँ हो वा दाहिने हातमा तेललाई समात्‍नुझैँ हो । 17 फलामले फलामलाई उध्याउँछ । त्यसै गरी, मानिसले आफ्नो मित्रलाई उध्याउँछ । 18 अञ्‍जीरको रुख गोडमेल गर्नेले यसको फल खाने छ, र आफ्नो गुरुको रक्षा गर्नेले आदर पाउँछ । 19 जसरी पानीले मानिसको अनुहार प्रतिबिम्बित गर्छ, त्यसै गरी मानिसको हृदयले उसको प्रतिबिम्बित गर्छ । 20 जसरी पाताल र एब्बाड्‍डोन कहिल्यै सन्तुष्‍ट हुँदैनन्, त्यसै गरी मानिसका आँखा कहिल्यै सन्तुष्‍ट हुँदैनन् । (Sheol h7585) 21 चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ, अनि मानिसको प्रशंसा हुँदा त्यसको जाँच हुन्छ । 22 मूर्खलाई खलमा वा अन्‍नलाई झैँ जाँतोमा हालेर पिँधे तापनि त्यसको मूर्खता त्यसबाट हट्ने छैन । 23 तेरा भेडा-बाख्राहरूको अवस्था राम्ररी थाहा गर, र तेरा गाईवस्तुहरूको बारेमा ध्यान दे । 24 किनकि धन-सम्पत्ति सदाको लागि होइन । के मुकुट सबै पुस्ताभरि रहन्छ र? 25 पराल कहिले हटाइन्छ र नयाँ पालुवा कहिले पलाउँछ अनि डाँडापाखाबाट घाँस कहिले बटुलिन्छ भनी तँलाई थाहा हुनुपर्छ । 26 ती भेडाहरूले तेरो वस्‍त्र जुटाउने छन्, र बाख्राहरूले खेतको मूल्य जुटाउने छन् । 27 तँ र तेरो घरानाको भोजनको लागि बाख्रीको दूध उपलब्ध हुने छ र त्यो तेरा नोकर्नीहरूलाई पोषण हुने छ ।

< हितोपदेश 27 >