लुका 2

1 ती दिनहरूमा रोमी साम्राज्यभित्र बस्‍ने सबै जनाको जनगणना गर्नू भनी कैसर अगस्टसले उर्दी जारी गरे । 2 कुरेनियस सिरियाका हाकिम हुँदाको यो पहिलो जनगणना थियो । 3 त्यसैले, सबै जना आ-आफ्ना गाउँमा जनगणनाका लागि नाउँ दर्ता गर्न गए । 4 योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेममा गए, जुन ठाउँ दाऊदको सहरको नामले चिनिन्‍थ्‍यो, किनभने उनी दाऊदको वंशका थिए । 5 उनी मरियमसँगै दर्ता गर्न त्‍यहाँ गएका थिए, जससँग उनको मगनी भएको थियो र तिनले एउटा बालकको आशा गरेका थिए । 6 तिनीहरू त्यहीँ छँदा मरियमको बालक जन्माउने समय आयो । 7 उनले आफ्नो पहिलो छोरा जन्माइन्, र कपडाले बेह्रिन् अनि जनावरहरूले खाने ठाउँमा राखिन् । किनभने तिनीहरूका निम्ति धर्मशालामा कुनै ठाउँ थिएन । 8 त्यस इलाकाको चौरमा राती आ-आफ्ना भेडाका रखवाली गर्दै गोठालाहरू बसिरहेका थिए । 9 एक्‍कासि, तिनीहरूकहाँ परमप्रभुका एउटा दूत देखा परे, र तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्किरहेको थियो, र तिनीहरू साह्रै भयभीत भए । 10 तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ, किनभने आज म तिमीहरूलाई बडो आनन्दको सुसमाचार घोषणा गर्छु, जसले सबै मानिसहरूलाई ठुलो आनन्द दिनेछ । 11 आज तिमीहरूका निम्ति दाऊदको सहरमा एउटा मुक्‍तिदाताको जन्म भएको छ । उहाँ ख्रीष्‍ट प्रभु हुनुहुन्छ । 12 तिमीहरूलाई चिह्नचाहिँ यो दिइएको छ, कि तिमीहरूले बालकलाई कपडाले बेह्रेरेर जनावरहरूलाई खुवाउने डुँडमा सुताइरहेको भेट्टाउनेछौ ।” 13 एक्‍कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा ठुलो दल देखा पर्‍यो र तिनीहरूले यसो भन्‍दै परमेश्‍वरको प्रंशसा गरे । 14 “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्छ, तिनीहरूलाई शान्ति ।” 15 जब परमप्रभुका स्वर्गदूतहरू स्वर्ग फर्के, तब गोठालाहरूले एक-अर्कालाई भने, “परमप्रभुबाट हामीलाई प्रकट गरिएको र घटेको यस घटनालाई बताउन बेथलेहेममा जाऊँ र हेरौँ ।” 16 तब तिनीहरू हतार-हतार गर्दै त्यहाँ गए, अनि योसेफ र मरियमलाई भेटे । तिनीहरूले बालकलाई दाना खुवाउने डुँडमा सुताइरहेको देखे । 17 तिनीहरूले यसलाई देखे पछि, बालकको बारेमा बताइएका सबै कुरा मानिसहरूलाई बताए । 18 गोठालाहरूद्वारा भनिएका कुरा सुन्‍नेहरू जति सबै जना आश्‍चर्य चकित भए । 19 तर मरियमले सुनेका सबै कुराहरूको बारेमा सोच्दै गरिन् र उनले आफ्नो मनमै राखिन् । 20 तिनीहरूलाई भनेअनुसार सुनेका र देखेका हरेक कुराका निम्ति परमेश्‍वरलाई महिमा दिँदै र प्रशंसा गर्दै फर्के । 21 जब आठौँ दिन भयो, तब बालकको खतना गर्ने समय भयो । तिनीहरूले उहाँको नाउँ येशू राखे, जुन नाउँ स्वर्गदूतद्वारा उहाँ गर्भधारण हुनुभन्दा अगि दिइएको थियो । 22 मोशाको व्यवस्थाअनुसार तोकिएका शुद्धिकरणका दिनहरू सकिएपछि, योसेफ र मरियमले सानो बालकलाई परमप्रभुको उपस्थितिमा यरूशलेममा ल्याए । 23 परमप्रभुको व्यवस्थामा लेखिएझैँ “पहिलो जन्मेको प्रत्येक पुरुष परमप्रभुमा अर्पण गर्नुपर्थ्यो ।” 24 तिनीहरूले परमप्रभुको व्यवस्थामा भनेअनुसार “एक जोडी ढुकुर र दुईवटा परेवा बलिदान चढाउन लिएर आए ।” 25 हेर, यरूशलेममा एक जना सिमियोन नाउँ गरेका व्यक्‍ति थिए । उनी धर्मी र ईश्‍वरभक्‍त मानिस थिए । उनले इस्राएलका सान्त्वना दाताको प्रतीक्षा गरिराखेका थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्‍यो । 26 पवित्र आत्माद्वारा उनलाई यो प्रकट गराइएको थियो कि परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्म उनको मृत्यु हुनेछैन । 27 एक दिन तिनी मन्दिरमा पवित्र आत्माको अगुवाइमा आए । व्यवस्थाले जे माग गरेको थियो, त्यो पुरा गर्न आमाबुबाद्वारा बालक येशूलाई मन्दिरमा ल्याइयो । 28 त्यसपछि शिमियोनले बालक येशूलाई काखमा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने, 29 “तपाईंको वचनअनुसार, अब हे परमप्रभु, आफ्ना दासलाई शान्‍तिसँग बिदा दिनुहोस् । 30 किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्, 31 जुन तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार गर्नुभएको छ । 32 तपाईंका जन इस्राएलीहरूका महिमा र अन्यजातिहरूलाई प्रकाश दिने ज्योति हुनुहुन्छ ।” 33 बालकका बुबाआमा बालकका विषयमा भनिएका कुरामा अचम्मित भए । 34 त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, “होसियारीसँग सुन, यो बालक इस्राएलमा धेरैको उत्थान र पतनका निम्ति र धेरैको विरुद्धमा बोलिने चिह्नको निम्ति नियुक्‍त गरिएको छ । 35 साथै तरवारले तिम्रो आफ्नै प्राण छेड्नेछ, ताकि धेरैका हृदयका विचारहरू प्रकट होऊन् ।” 36 एक जना हन्‍ना नामकी अगमवादिनी पनि त्यहाँ थिइन् । उनी आशेर कुलकी फनुएलकी छोरी थिइन् । उनी धेरै वृद्ध भइसकेकी थिइन् । विवाहपछि उनी जम्मा सात वर्ष आफ्ना पतिसँग बसेकी थिइन् । 37 त्यसपछि उनी चौरासी वर्ष विधवा नै रहिन् । उनले मन्दिर कहिल्यै नछोडी निरन्तर दिनरात प्रार्थना र उपवास गर्दै परमेश्‍वरको आराधना गर्दै रहिन् । 38 त्यही समयमा उनी त्यहाँ आइन् र परमेश्‍वरलाई धन्यवाद चढाउन थालिन् । यरूशलेमको उद्धार पर्खिरहेका हरेकलाई उनले बालकको बारेमा बताइन् । 39 परमप्रभुको व्यवस्थाले बताएबमोजिम जब तिनीहरूले सबै काम सिद्धयाए, उनीहरू आफ्नै सहर गालीलको नासरतमा फर्के । 40 बालक बुद्धिमा र कदमा बढ्दै जानुभयो, र परमप्रभुको अनुग्रह उहाँमाथि थियो । 41 उहाँका आमाबुबा निस्तार-चाड मनाउनका निम्ति हरेक वर्ष यरूशलेममा जान्थे । 42 जब उहाँ बाह्र वर्षको हुनुहुन्‍थ्‍यो, तिनीहरू सधैँझैँ चाड मनाउनका निम्ति फेरि गए । 43 चाडका पुरा दिनहरू त्यहाँ बिताएपछि तिनीहरू आफ्ना घर फर्किन थाले, तर बालक येशू यरूशलेममा नै रहनुभयो जुन कुरा उहाँका बुबाआमालाई थाहा थिएन । 44 तर तिनीहरूले बालक येशू यात्रीहरूकै दलमा हुनुहुन्छ भनी विचार गरे र एक दिनको यात्रा गरी सिद्धायाए । त्यसपछि उनीहरूले उहाँलाई नातेदार र साथीहरूको बिचमा खोज्‍न थाले । 45 जब उनीहरूले उहाँलाई भेट्टाएनन्, यरूशलेममा फर्केर उहाँलाई खोज्‍न थाले । 46 तिन दिनपछि, उनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा सुन्दै र तिनीहरूलाई प्रश्‍न गर्दै गरेको भेट्टाए । 47 जतिले उहाँका कुरा सुन्थे, उहाँको समझशक्‍ति र जवाफमा आश्‍चर्य चकित हुन्थे । 48 जब उनीहरूले उहाँलाई देखे, तब अचम्मित भए । उहाँकी आमा मरियमले उहाँलाई भनिन् “छोरा, किन तिमीले हामीसँग यस्तो व्यवहार गर्‍यौ? सुन! तिम्रा बुबा र मैले कति चिन्तित हुँदै तिमीलाई खोजिरहेका थियौँ ।” 49 उहाँले उनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनुभएको? म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा छैन?” 50 तर उहाँले उनीहरूलाई के भन्‍नुभएको थियो भनी उनीहरूले बुझ्‍न सकेनन् । 51 त्यसपछि उहाँ तिनीहरूसँग आफ्नो घर नासरत फर्कनुभयो र आज्ञाकारी भई रहनुभयो । उहाँकी आमाले यी सबै कुरा मनमै राखिन् । 52 तर येशू बुद्धिमा, कदमा र परमेश्‍वर अनि मानिसको निगाहमा निरन्तर बढ्दै जानुभयो ।