< लेवीहरू 26 >

1 “तिमीहरूले मूर्तिहरू नबनाउनू, र आफ्नो निम्ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खडा नगर्नू, र आफ्नो भूमिमा खोपिएको ढुङ्गाको प्रतिमूर्ति बनाएर त्यसलाई दण्डवत् नगर्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । 2 तिमीहरूले मेरो शबाथ मान्‍नू र मेरो पवित्रस्थानको आदर गर्नू । म परमप्रभु हुँ । 3 यदि तिमीहरू मेरा नियमहरूअनुसार हिँड्यौ र मेरा आज्ञाहरू पालन गरेर तीअनुसार चल्यौ भने, 4 म तिमीहरूलाई ठिक मौसममा झरी दिने छु, र भूमिले आफ्नो उब्जनी दिने छ, र भूमिका रुखहरूले आफ्ना फल दिने छन् । 5 दाख बटुल्‍ने समयसम्मै तिमीहरूले दाइँ गर्ने छौ, र रोपाइँको समयसम्मै दाख बटुल्‍ने छौ । तिमीहरूले भरपेट रोटी खाने छौ र भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्यहाँ सुरक्षितसाथ जिउने छौ । 6 म देशमा शान्ति ल्याउने छु, र तिमीहरू कुनै डरविना नै निदाउने छौ । म तिमीहरूका देशबाट हिंसक पशुहरूलाई हटाइदिने छु, र तिमीहरूका देशमा तरवार प्रहार हुने छैन । 7 तिमीहरूले आफ्ना दुश्मनहरूलाई लखेट्‍ने छौ, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूकै अगि तिनीहरू लड्‍ने छन् । 8 तिमीहरूका पाँच जनाले सयलाई, र सयले हजार जनालाई लखेट्‍ने छन्, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूका दुश्मनहरू तिमीहरूकै अगि लड्‍ने छन् । 9 म तिमीहरूमाथि कृपादृष्‍टि लगाउने छु र तिमीहरूलाई फलवन्‍त बनाएर तिमीहरूको सङ्ख्या वृद्धि गर्ने छु । म मेरो करार तिमीहरूसँग स्थापना गर्ने छु । 10 तिमीहरूले लामो समयसम्म भण्डार गरेको खाने कुरा खाने छौ । तिमीहरूले भण्डार गरेको खाने कुरा बाहिर निकालेर नयाँ फसलको निम्ति ठाउँ तयार गर्ने छौ । 11 म मेरो वेदी तिमीहरूकै बिचमा राख्‍ने छु, र म तिमीहरूलाई घृणा गर्ने छैनँ । 12 म तिमीहरूका बिचमा हिँड्‍डुल गर्ने छु, र म तिमीहरूका परमेश्‍वर हुने छु, र तिमीहरू मेरा मानिसहरू हुने छौ । 13 तिमीहरू मिश्रमा दास भइनरहोस् भनेर त्यस देशबाट तिमीहरूलाई निकालेर बाहिर ल्याउने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ । मैले तिमीहरूका जुवाका काठहरू भत्‍काइदिएको छु र तिमीहरूलाई ठाडो भएर हिँड्ने तुल्याएको छु । 14 तर तिमीहरूले मेरा कुरा सुनेनौ, र मेरा यी सबै आज्ञाहरू मानेनौ, 15 र मेरा विधि र नियमहरूलाई घृणा गरेर इन्‍कार गर्‍यौ, र मेरा सबै आज्ञाहरू पालन नगरेर मेरो करारलाई तोड्‍यौ भने, 16 म तिमीहरूका बिचमा आतङ्क फैलाउने छु, आँखालाई नष्‍ट गर्ने र प्राणलाई शिथिल गराउने रोगहरू र ज्वरोहरू पठाउने छु । तिमीहरूले छरेका बिउ व्यर्थ हुने छन्, किनभने तिमीहरूका शत्रुहरूले त्यसको उब्जनी खाने छन् । 17 म मेरो मुहार तिमीहरूबाट फर्काउने छु, र तिमीहरूका शत्रुले तिमीहरूलाई पराजय गर्ने छन् । तिमीहरूलाई घृणा गर्ने मानिसहरूले तिमीहरूमाथि शासन गर्ने छन्, र कसैले तिमीहरूलाई नखेदे तापनि तिमीहरू भाग्‍ने छौ । 18 यी सबैपछि पनि तिमीहरूले मेरो कुरा सुनेनौ भने, म तिमीहरूका पापभन्दा सात गुणा बढी सजाय तिमीहरूलाई दिने छु । 19 आफ्नो शक्‍तिमाथिको तिमीहरूको घमण्डलाई म तोडिदिने छु । तिमीहरूमाथिको आकाशलाई फलामझैँ र तिमीहरूको भूमिलाई काँसोझैँ बनाउने छु । 20 तिमीहरूको मेहनत व्यर्थ हुने छ, किनभने तिमीहरूको भूमिले आफ्नो फसल दिने छैन, र तिमीहरूका भूमिका रुखहरूले आफ्ना उब्जनी दिने छैनन् । 21 यदि तिमीहरू मेरो विरुद्ध भयौ र मेरो कुरा सुनेनौ भने, तिमीहरूका पापहरूको बदलामा म सात गुणा विपत्ति ल्याउने छु । 22 म तिमीहरूकहाँ डर लाग्‍दा पशुहरू पठाउने छु, र तिनीहरूले तिमीहरूका छोराछोरीहरू चोरी लैजाने छन्, र तिमीहरूका गाईवस्तुलाई नष्‍ट गर्ने छन्, र तिमीहरूको सङ्ख्यामा कमि ल्याउने छन् । यसरी तिमीहरूका मार्गहरू विराना हुने छन् । 23 यी कुराहरू हुँदाहुँदै पनि तिमीहरूले मेरा सुधारहरूलाई स्वीकारेनौ र मेरो विरुद्धमा हिँड्न छोडेनौ भने, 24 म तिमीहरूका विरुद्ध हुने छु, र तिमीहरूका पापका कारण म तिमीहरूलाई सात गुणा दण्ड दिने छु । 25 म तिमीहरूमाथि तरवार प्रहार गर्ने छु र तिमीहरूले करार भङ्ग गरेको कारण त्यस तरवारले बदला लिने छ । तिमीहरू आफ्ना सहरहरूमा भेला गराइने छौ, र तिमीहरूका बिचमा मैले एउटा रोग पठाउने छु, र तिमीहरूका दुश्‍मनका हातमा तिमीहरूलाई सुम्‍पने छु । 26 जब म तिमीहरूका भोजनको आपूर्ति रोकिदिने छु, दस जना स्‍त्रीले एउटै भाँडोमा तिमीहरूका निम्ति रोटी बनाउने छन्, र वजनअनुसार तिनीहरूले तिमीहरूका रोटी वितरण गर्ने छन् । तिमीहरूले खाने त छौ, तर तृप्‍त हुने छैनौ । 27 यी कुराहरू हुँदाहुँदै पनि तिमीहरूले मेरो कुरा सुनेनौ र मेरो विरुद्ध हिँडिरह्‍यौ भने, 28 म क्रोधित हुने छु र तिमीहरूको विरुद्ध हुने छु, र तिमीहरूका पापभन्दा सात गुणा बढी दण्ड म दिने छु । 29 तिमीहरूले आफ्ना छोराछोरीहरूका मासु खाने छौ । 30 म तिमीहरूका डाँडाका थानहरू नाश गर्ने छु, तिमीहरूका धूपका वेदीहरू भत्‍काइदिने छु, र तिमीहरूका लाशहरू तिमीहरूका मृत मूर्तिहरूमाथि फालिदिने छु, र म तिमीहरूलाई तिरस्कार गर्ने छु । 31 म तिमीहरूका सहरहरूलाई भग्‍नावशेषमा परिणत गरिदिने छु र तिमीहरूका पवित्र स्थलहरू नष्‍ट गरिदिने छु । म तिमीहरूका बलिदानहरूका सुगन्धबाट प्रसन्‍न हुने छैनँ । 32 म तिमीहरूका देशलाई ध्वस्त पारिदिने छु । त्यहाँ बस्‍ने तिमीहरूका दुश्‍मनहरूले त्यस्तो विनाश देखेर आश्‍चर्यचकित हुने छन् । 33 म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितरबितर पारिदिने छु, र मेरो तरवार निकालेर तिमीहरूको पछि लाग्‍ने छु । तिमीहरूको देश त्यागिने छ र तिमीहरूका सहरहरू विनाश हुने छन् । 34 त्यो देश जबसम्म त्यागिएको हुन्छ र जबसम्म तिमीहरू दुश्‍मनको भूमिमा हुन्छौ, तबसम्म त्यो देशले शबाथ मनाउने छ । त्यस समयसम्म देशले विश्राम गर्ने छ र आफ्नो शबाथ मनाउने छ । 35 त्यो जबसम्म त्यागिएको हुन्छ, त्यो विश्राममा हुन्छ । तिमीहरू त्यहाँ बसोबास गर्दा तिमीहरूका शबाथसँगै त्यसले यस्तो विश्राम पाएको थिएन । 36 तिमीहरूका दुश्‍मनका देशमा छोडिएकाहरूका हृदयहरूमा यस्तो डर हालिदिने छु, कि हावाले पात हल्‍लाउँदा आउने आवाजले तिमीहरूलाई झस्‍काउने छ, र तिमीहरू तरवारबाट टाढा भागेझैँ दौडने छौ । कसैले तिमीहरूलाई नखेदेको भए पनि तिमीहरू लड्‍ने छौ । 37 कसैले नखेदेको भए तापनि तिमीहरू तरवारबाट टाढा भागेझैँ भाग्‍ने छौ र एक-अर्कासँग ठोकिने छौ । तिमीहरूसँग आफ्ना दुश्‍मनहरूको अगाडि उभिने तागत हुने छैन । 38 तिमीहरू जाति-जातिहरूका बिचमा नष्‍ट हुने छौ, र तिमीहरूका दुश्‍मनको भूमिले तिमीहरूलाई निल्‍ने छ । 39 तिमीहरूमध्ये बाँकी रहेकाहरू तिमीहरूका दुश्‍मनको देशमा आफ्ना पाप र आफ्ना पुर्खाहरूको पापका कारण खतम हुने छन् । 40 तर यदि तिनीहरूले आफ्ना र आफ्ना पुर्खाहरूका पाप, मप्रति विश्‍वासहीन भएर गरेका विद्रोह, र मेरो विरुद्धको हिँडाइलाई स्वीकारे भने- 41 जसले गर्दा म तिनीहरूको विरुद्ध भएँ र तिनीहरूलाई मैले तिनीहरूका दुश्‍मनको देशमा ल्याएँ- र यदि तिनीहरूका कठोर कठोर हृदय नम्र भए, अनि तिनीहरूले आफ्ना पापका कारण दण्डहरू स्वीकारे भने, 42 मैले याकूब, इसहाक र अब्राहामसँग गरेको मेरो करारको सम्झना गर्ने छु, र त्यो देशलाई पनि सम्झने छु । 43 त्यो देश तिनीहरूद्वारा त्यागिने छ, र यसैकारण त्यो त्यागिएको समयमा त्यसले शबाथ मनाउने छ । तिनीहरू आफैले मेरा आज्ञाहरू इन्‍कार गरेका र मेरा नियमहरूलाई घृणा गरेका हुनाले तिनीहरूले आफ्ना पापको दण्ड पाउने छन् । 44 यी सबै कुरा हुँदाहुँदै पनि तिनीहरू आफ्ना दुश्‍मनको भूमिमा हुँदा म तिनीहरूलाई इन्‍कार गर्ने छैनँ, न त तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गर्न र तिनीहरूसँगको मेरो करारबाट टाढा हुनको निम्ति तिनीहरूलाई घृणा गर्ने छु, किनभने म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ । 45 तर तिनीहरूका खातिर मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेको करारको सम्झना म गर्ने छु, जुन पुर्खाहरूलाई म तिनीहरूका परमेश्‍वर हुन सकूँ भनेर मैले मिश्र देशबाट बाहिर ल्याएँ । म परमप्रभु हुँ ।” 46 परमप्रभुले सीनै पर्वतमा मोशाद्वारा उहाँ र इस्राएलका मानिसहरूका बिचमा दिनुभएका आज्ञाहरू, विधिहरू र नियमहरू यी नै हुन् ।

< लेवीहरू 26 >