< यहोशू 23 >

1 परमप्रभुले तिनीहरूको वरिपरि भएका तिनीहरूका सबै शत्रुबाट विश्राम दिनुभएको धेरै समयपछि यहोशू वृद्ध भइसकेका थिए । 2 यहोशूले इस्राएलका धर्म-गुरुहरू, अगुवाहरू, न्यायकर्ताहरू सबैलाई बोलाए र तिनीहरूलाई भने, “म निकै वृद्ध भइसकेको छु । 3 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका खातिर यी सबै जातिलाई गर्नुभएका सबै कुरा तिमीहरूले देखेका छौ, किनभने तिमीहरूका निम्ति लड्नुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुनुहुन्छ । 4 हेर, मैले तिमीहरूलाई पश्‍चिममा यर्दनदेखि महासमुद्रसम्म पहिले नै नष्‍ट पारेका जातिहरूका साथै तिमीहरूका कुलहरूका निम्ति उत्तराधिकारको रूपमा हुन विजय हासिल गर्न बाँकी रहेका जातिहरू तिमीहरूलाई दिएको छु । 5 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई धपाउनुहुने छ । उहाँले तिनीहरूलाई तिमीहरूका खातिर फ्याँक्‍नुहुने छ । उहाँले तिनीहरूको भू-भाग कब्जा गर्नुहुने छ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको भूमि अधीन गर्ने छौ । 6 त्यसैले निकै बलियो होओ, ताकि मोशाको व्यवस्थाबाट न त दहिने न त देब्रेतिर नलागी सबै पालन गर । 7 त्यसैले तिमीहरू तिमीहरूका माझमा रहेका जातिहरूसँग नमिसिओ वा तिनीहरूका देवताहरूको नाउँ उच्‍चारण नगर, तिनीहरूको शपथ नखाओ, तिनीहरूको आराधना नगर वा तिनीहरूलाई दण्डवत् नगर । 8 बरु, तिमीहरूले आजको दिनसम्म गरेझैँ तिमीहरूका परमप्रभु परमश्‍वरमा नै रहिरहो । 9 किनभने परमप्रभुले ठुलो र बलियो जातिहरूलाई तिमीहरूको सामु धपाउनुभएको छ, आजको दिनसम्म कोही तिमीहरूको सामु खडा हुन सकेको छैन । 10 तिमीहरूमध्ये एक जनाले हजार जनालाई भगाउनेछ, किनभने तिमीहरूका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ उहाँ तिमीहरूका निम्ति लड्नुहुने छ । 11 विशेष ध्यान देऊ, ताकि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर 12 तर यदि तिमीहरू तिमीहरूमाझ बाँकी रहेका यी जातिहरूसँग लाग्यौ र पछि हट्यौ भने वा यदि तिमीहरूले तिनीहरूसँग अन्तर-जातीय विवाह गर्‍यौ भने वा यदि तिमीहरू उनीहरूसँगै आयौ र उनीहरू तिमीहरूसँग सबै आए भने, 13 यो जान कि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू माझबाट यी जातिहरूलाई धपाउनुहुने छैन । बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरू नष्‍ट नभएसम्म उनीहरू तिमीहरूका निम्ति पासो र जाल अनि तिमीहरूका पीठमा कोर्रा, तिमीहरूका आँखाका कसिङ्गर हुने छन् । 14 म सबै पृथ्वीको मार्गमा जाँदै छु, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको बारेमा प्रतिज्ञा गर्नुभएको कुनै पनि असल कुरा सत्य साबित हुन एक शब्द पनि चुकेको छैन भनी तिमीहरूले आफ्नो सारा ह्रदय र आफ्नो सारा प्राणले जान्दछौ । यी सबै कुरा तिमीहरूका निम्ति पुरा भएका छन् । तिनमा एउटै पनि चुकेको छैन । 15 तर जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएका सबै वचन पुरा भएको छ, त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरूलाई नष्‍ट नगरेसम्म परमप्रभुले तिमीहरूमाथि सबै खराबी ल्याउनुहुने छ । 16 यदि तिमीहरूले पालन गर्न तिमीहरूलाई उहाँले आज्ञा गर्नुभएको परमप्रभु तिमीहरूका परमेश्‍वरको करार तोड्यौ भने, उहाँले यो गर्नुहुने छ । यदि तिमीहरू जान्छौ र अरू देवताहरूको आराधना गर्छौ र दण्डवत् गर्छौ भने, परमप्रभुको क्रोध तिमीहरूविरुद्ध दन्किने छ र उहाँले तिमीहरूलाई दिनुभएको असल भूमिबाट तिमीहरू चाँडै नष्‍ट हुने छौ ।”

< यहोशू 23 >