< यहोशू 2 >

1 नूनका छोरा यहोशूले शित्तीमबाट दुई जना मानिसलाई जासुसको रूपमा पठाए । तिनले भने, “जाओ, त्यो भूमिलाई हेर, विशेष गरी यरीहोलाई हेर ।” तिनीहरू गए र राहब नाउँ गरेकी वेश्याकहाँ आए र तिनीहरू त्यहीँ बास बसे । 2 यरीहोका राजालाई यसो भनियो, “हेर्नुहोस्, यस भूमिको भेद पत्ता लगाउन इस्राएलका मानिसहरू यहाँ आएका छन् ।” 3 यरीहोका राजाले राहबकहाँ खबर पठाए र भने, “तिमीकहाँ आउने ती मानिसहरूलाई बाहिर लेऊ, जो तिम्रो घरमा प्रवेश गरेका थिए, किनभने तिनीहरू सारा भूमिको जासुस गर्न आएका छन् ।” 4 तर ती महिलाले ती दुई जना मानिसलाई लगेर लुकाएकी थिइन् । तिनले भनिन्, “हो, मानिसहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका थिए, मलाई थाहा भएन । 5 तिनीहरू सहरको प्रवेशद्वार बन्द गर्ने समय हुँदा साँझपख गए । तिनीहरू कता गए मलाई थाहा भएन । तपाईंहरू छिटो-छिटो जानुभयो भने सम्भवतः तपाईंहरूले तिनीहरूलाई भेट्टाउनु हुनेछ ।” 6 तर तिनले तिनीहरूलाई कौसीमा लगेकी थिइन् र तिनले कौसीमाथि थुपारेकी सनको डाँठहरूमुनि लुकाएकी थिइन् । 7 त्यसैले ती मानिसहरू यर्दनको जाँघरहरूतिर जाने बाटो हुँदै तिनीहरूको पिछा गरे । ती पिछा गर्नेहरू जाने बित्तिकै प्रवेशद्वार बन्द गरियो । 8 ती मानिसहरू राति सुत्‍नुअगि नै तिनी कौसीमाथि तिनीहरूकहाँ आइन् । 9 तिनले भनिन्, “मलाई थाहा छ, परमप्रभुले यो भूमि तपाईंहरूलाई दिनुभएको छ र तपाईंहरूको डर हामीमाथि आइपरेको छ । यो भूमिमा बस्‍ने सबै मानिस तपाईंहरूको सामु शिथिल हुने छन् । 10 तपाईंहरू मिश्रबाट आउनुहुँदा परमप्रभुले लाल समुद्रको पानी कसरी सुकाउनुभयो भनी हामीले सुनेका छौँ । तपाईंहरूले यर्दन पारिका दुई जना एमोरी राजाहरू सीहोन र ओगलाई के गर्नुभयो भनेर पनि हामीले सुनेका छौँ । 11 हामीले यो सुन्‍ने बित्तिकै हाम्रा हृदय शिथिल भए, कसैसँग पनि साहस रहेन, किनभने परमप्रभु तपाईंहरूका परमेश्‍वर नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्छ । 12 बिन्ती छ, मैले जसरी तपाईंहरूलाई दया गरेको छु त्यसरी नै तपाईंहरूले पनि मेरो पिताको घरानालाई दयापूर्वक व्यवहार गर्नुहुने छ भनी परमप्रभुको नाउँमा शपथ खानुहोस् । मलाई एउटा चिन्ह दिनुहोस्, 13 कि तपाईंहरूले मेरा बुबा, आमा, दाजुभाइहरू, दिदी-बहिनीहरू र तिनीहरूका सबै परिवारको जीवन बचाउनुहुने छ र तपाईंहरूले हामीलाई मृत्युबाट जोगाउनुहुने छ । 14 ती मानिसहरूले तिनलाई भने, “मृत्युसम्म नै तिमीहरूको जीवनको सट्टामा हाम्रो जीवन! यदि तिमीले हाम्रो कामबारे बताएनौ भने, जब परमप्रभुले यो भूमि हामीलाई दिनुहुने छ हामी तिमीसँग दयालु र विश्‍वासयोग्य हुने छौँ ।” 15 त्यसैले तिनले डोरीको सहायताले तिनीहरूलाई झ्यालबाट तल झारे । तिनी बसोवास गर्ने घर सहरको पर्खालभित्र नै बनाइएको थियो । 16 तिनले तिनीहरूलाई भने, “पहाडतिर जानुहोस् र लुक्‍नुहोस्, नत्र पिछा गर्नेहरूले तपाईंहरूलाई भेट्टाउने छन् । पिछा गर्नेहरू नफर्केसम्म तिन दिनसम्म त्यहीँ लुक्‍नुहोस् । अनि आफ्नो बाटो लाग्‍नुहोस् ।” 17 ती मानिसहरूले तिनलाई भने, “यदि तिमीले यो कुरा गरेनौ भने हामीले तिमीलाई गरेका प्रतिज्ञाहरू लागु हुने छैनन् । 18 हामी यो भूमिमा आउँदा तिमीले हामी जुन झ्यालबाट झरेका थियौँ त्यहीँ नै यो रातो डोरी बाँध्‍नुपर्छ र तिमीले तिम्रा बुबा, आमा, तिम्रा दाजुभाइहरू र तिम्रा बुबाका सबै घरानालाई घरभित्र ल्याउनुपर्छ । 19 तिम्रो घरबाहिर बाटोतिर जानेहरूको रगत तिनीहरूको शिरमाथि पर्ने छ र हामी दोषरहित हुने छौँ । तर घरमा तिमीसँगै रहने कुनै माथि हात लगाइयो भने, त्यसको रगत हाम्रो शिरमा पर्ने छ । 20 तर यदि तिमीले हाम्रा कामहरूबारे बतायौ भने, तिमीले हामीलाई खान लगाएको शपथबाट हामी मुक्‍त हुने छौँ । 21 राहबले जवाफ दिए, “तपाईंहरूले भन्‍नुभएबमोजिम नै होस् ।” तिनले तिनीहरूलाई पठाए र तिनीहरू गए । अनि तिनले झ्यालमा त्यो रातो डोरी बाँधिन् । 22 तिनीहरू गए र पहाडतिर गए अनि तिनीहरूको पिछा गर्नेहरू नफर्केसम्म तिनीहरू तिन दिनसम्म त्यहीँ नै बसे । पिछा गर्नेहरूले बाटोमा सबैतिर खोजे र केही पनि भेट्टाएनन् । 23 ती दुई जना मानिस फर्के र नूनका छोरा यहोशूकहाँ आए र तिनीहरूले तिनीहरूमाथि आइपरेका सबै कुरा तिनलाई बताए । 24 तिनीहरूले यहोशूलाई भने, “साँच्‍चै, यो भूमि परमप्रभुले हामीलाई दिनुभएको छ । त्यो भूमिका सबै बासिन्दा हाम्रो कारणले शिथिल भइरहेका छन् ।”

< यहोशू 2 >