< इजकिएल 15 >

1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 “ए मानिसको छोरो, वनका अरू कुनै रूखका हाँगाहरूभन्‍दा दाखका बोटको कसरी असल हुन्‍छ? 3 के मानिसहरूले दाखको बोटबाट केही चीज बनाउन काठ लिन्छन् र? के तिनीहरूले कुनै कुरा झुण्‍ड्याउनलाई त्‍यसबाट किला बनाउँछन्‌ र? 4 हेर्, त्यसलाई दाउराको रूपमा आगोमा हालियो भने र त्‍यसका दुई छेउ र बिचको भाग आगोले भस्‍म भयो भने, के त्‍यो कुनै कामको हुन्‍छ र? 5 हेर्, त्‍यो सिङ्गै हुँदा पनि केही कामको बन्‍न सकेन । निश्‍चय पनि आगोले भस्‍म भएपछि, अझै पनि त्‍यसबाट केही कामको कुरा बन्‍दैन । 6 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः वनमा भएका रूखहरूभन्‍दा फरक गरी मैले दाखका बोटलाई आगोको लागि दाउरा हुन दिएँ । यरूशलेमका बसिन्‍दाहरूसित पनि म त्‍यसरी नै काम गर्नेछु । 7 किनकि म आफ्‍नो अनुहार तिनीहरूका विरुद्धमा फर्काउनेछु । तिनीहरू आगोबाट बाहिर आए तापनि तिनीहरूलाई आगोले नै भस्‍म गर्नेछ । यसरी तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ जति बेला मैले आफ्‍नो अनुहार तिनीहरूका विरुद्धमा फर्काउनेछु । 8 तब तिनीहरूले पाप गरेका हुनाले म तिनीहरूको देशलाई त्‍यागिएको उजाड-स्‍थान बनाउनेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”

< इजकिएल 15 >