< व्यवस्था 24 >

1 आफूले बिहे गरेर ल्याएकी पत्‍नीमा कुनै खोट पाएकोले पुरुषले त्यसलाई त्याग्‍न चाह्यो भने त्यसले त्यागपत्र लेखेर उसको हातमा थमाइदिएर उसलाई आफ्नो घरबाट पठाओस् । 2 त्यो आफ्नो घरबाट गइसकेपछि त्यो कसैकी पत्‍नी हुन सक्छे । 3 दोस्रो पतिले पनि त्यसलाई घृणा गरी त्यागपत्र लेखी त्यसको हातमा थमाइदिएर उसलाई घरबाट पठाइदियो वा दोस्रो पतिको पनि मृत्यु भयो भने 4 त्यसको पहिलेको पति अर्थात् उसलाई घरबाट पठाउने पतिले त्यस स्‍त्री अशुद्ध भएपछि त्यसलाई आफ्नी पत्‍नी हुनलाई नलिन पनि सक्छ । किनकि त्यसो गर्नु परमप्रभुको लागि घृणित कुरो हो । तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिन लाग्‍नुभएको देशलाई दोषी नबनाओ । 5 भर्खरै बिहे गरेको पुरुष सेनासँगै युद्धमा नजाओस् न त जबरजस्ती उसलाई कुनै जिम्मेवारी दिइयोस् । त्यो एक वर्षसम्म घरमा रही त्यसले भर्खरै ल्याएकी पत्‍नीसित रमाओस् । 6 कसैले धितोको रूपमा जाँतो वा जाँतोको माथिल्लो ढुङ्गा नलिओस् किनकि त्यसो गर्नु भनेको त्यस व्यक्तिको जीवन लिनु बराबर हो । 7 इस्राएलीहरूका बिचबाट कसैले आफ्ना दाजुभाइमध्ये एउटालाई अपहरण गरी त्यसलाई नोकरसरह व्यवहार गरी बेचिदिएको छ भने त्यो अपहरणकारी मारिनैपर्छ । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टतालाई हटाउने छौ । 8 कुष्‍ठरोगको विपत्तिको बारेमा तिमीहरूले ध्यान देओ ताकि पुजारीहरू अर्थात् लेवीहरूले तिमीहरूलाई सिकाएका हरेक निर्देशनलाई तिमीहरूले होसियारीसाथ पछ्याई पालन गर्न सक । मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिमीहरूले गर्नू । 9 तिमीहरू मिश्रबाट आइरहँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले मिरियमलाई के गर्नुभयो, सो सम्झ । 10 तिमीले आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिँदा धरौटी लिन उसको घरभित्र प्रवेश नगर । 11 तिमी बाहिरै पर्ख, र तिमीले ऋण दिएको व्यक्ति धरौटी लिएर बाहिरै आओस् । 12 त्यो गरिब रहेछ भने त्यसको आफ्नो सम्पत्ति ठानी धरौटीसितै नसुत्‍नू । 13 सूर्य अस्ताउनुअगि तिमीले त्यसको धरौटी फिर्ता गरिदिनू ताकि त्यो आफ्नो ओढ्नेमा सुत्‍न सकोस् र तिमीलाई आशिष् दिन सकोस् । परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु यो तिम्रो निम्ति धार्मिकता हुने छ । 14 तिमीहरूले गरिब र दरिद्र ज्यालादारी नोकरलाई थिचोमिचो नगर, चाहे त्यो तिमीहरूकै सहरभित्र तिमीहरूको देशमा भएको इस्राएली भाइ होस् वा परदेशी होस् । 15 तिमीहरूले हरेक दिन त्यसलाई त्यसको ज्याला दिनू । सूर्य अस्ताउनुअगि यो विषय सुल्झोस् किनकि त्यो गरिब हो र यसमा नै भर पर्छ । यसो गर्नू ताकि त्यसले परमप्रभुको सामु पुकार नगरोस्, र यो तिमीहरूले गरेका पाप नबनोस् । 16 छोराछोरीका कारणले बुबाआमालाई नमार्नू, न त बुबाआमाको कारणले छोराछोरीलाई मार्नू । बरु, हरेक मानिस आफ्नै पापको निम्तो मरोस् । 17 परदेशी वा अनाथले पाउने न्याय हरण गर्न दमन नगर । विधवाको ओढ्ने धरौटीको रूपमा नराख । 18 बरु, तिमीहरू मिश्रमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई त्यहाँबाट छुटकारा दिनुभयो भनी याद गर्नू । त्यसकारण, यो आज्ञा पालन गर्न मैले तिमीहरूलाई निर्देशन दिएको छु । 19 तिमीहरूले आफ्नो खेतमा फसलको कटनी गर्दा अन्‍नको एक बिटा बिर्सेका छौ भने त्यसलाई लिन फर्केर नजाओ । यो परदेशी, अनाथ वा विधवाको लागि होस् ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा आशिष् दिनुभएको होस् । 20 तिमीहरूले भद्राक्षको रुखलाई हल्लाउँदा तिमीहरू फेरि हाँगाहरूमा नजाओ । यो परदेशी, अनाथ वा विधवाको लागि होस् । 21 तिमीहरूले आफ्नो दाखबारीबाट दाख बटुल्दा तिमीहरूले फेरि सोहोरसाहर नगर्नू । छाडिएको चाहिँ परदेशी, अनाथ र विधावाको लागि हुने छ । 22 तिमीहरू मिश्रमा कमारा थियौ भनी याद राख्‍नू । त्यसकारण, मैले तिमीहरूलाई आज्ञा गरेको यो निर्देशन मान्‍नू ।

< व्यवस्था 24 >