< दानिएल 12 >

1 “त्यो समयमा, तिम्रा मानिसहरूको रक्षा गर्ने महान् राजकुमार, मिखाएल खडा हुनेछन् । त्यहाँ विपत्तिको समय हुनेछ, जुन कुनै पनि जातिको सुरुदेखि त्यो समयसम्‍म कहिल्यै भएको थिएन । त्यो समयमा तिम्रा मानिसमध्‍ये हरेक, जसका नाम पुस्तकमा लेखिएका पाइनेछ, ती बचाइनेछन् । 2 पृथ्वीको माटोमा सुतेकाहरूमध्‍ये धेरै जना, कोही अनन्तको जीवनको निम्ति, अनि कोही लाज र अनन्तको निन्दाको निम्ति फेरि उठ्नेछन् । 3 बुद्धिमान् मानिसहरू माथि आकाशको उज्यालोझैं चम्कनेछन्, र धेरैलाई धार्मिकतामा डोर्‍याउनेहरू सदाको निम्ति ताराहरूझैं हुनेछन् । 4 तर तिमी दानिएल, यी वचनलाई बन्द गर । अन्तको समयसम्म त्यो पुस्तकलाई मोहर लगाई राख । धेरै जना यता-उता दौडनेछन्, र ज्ञान बढ्नेछ ।” 5 तब, म, दनिएलले हेरें, र त्यहाँ अरू दुई जना खडा थिए । एक जना नदीको यतापट्टिको किनारमा, र एक जना नदीको अर्कोपट्टिको किनारमा खडा थिए । 6 तीमध्ये एक जनाले नदीको माथि भएका मलमलको लुगा लगाउने मानिसलाई सोधे, “यी अचम्मका घटनाहरू पूरा हुन कति समय लाग्‍नेछ?” 7 नदीमाथि भएका मलमलको लुगा लगाउने मानिसको आवाज मैले सुनें— तिनले आफ्नो दाहिने र देब्रे हात स्वर्गतिर उचाले र अनन्तसम्म रहनुहुनेको नाउँमा सपथ खाएर भने, कि त्यो एक वर्ष, दुई वर्ष, र आधा वर्षसम्म हुनेछ । आखिरीमा जब पवित्र मानिसहरूका शक्ति तोडिनेछ, तब यी सबै कुराहरू पूरा हुनेछन् । 8 मैले सुनें, तर मैले बुझिनँ । यसैले मैले सोधें, “ए मेरा मालिक, यी सबै कुराहरूको परिणाम के हुनेछ?” 9 तिनले भने, “ए दानिएल, तिमी आफ्नो बाटो लाग, किनभने अन्तको समय नभएसम्म यी वचनलाई बन्द गरिएका र मोहर लगाइएका छन् । 10 धेरै जना शुद्ध पारिनेछन्, दागरहित बनाइनेछन्, र खारिनेछन्, तर दुष्‍टहरूले दुष्‍ट काम गर्नेछन् । दुष्‍टहरूमध्‍ये कसैले पनि बुझ्नेछैन, तर बुद्धिमान्‌हरूले बुझ्नेछन् । 11 दैनिक होमबलि हटाइएको र पूर्ण विनाश ल्याउने घृणित थोकको स्‍थापना गरिएको समयदेखि, त्‍यहाँ १,२९० दिन हुनेछन् । 12 त्‍यो मानिस धन्यको जो १,३३५ दिनहरूका अन्त्यसम्म पर्खकन्‍छ । 13 अन्तसम्म तिमी आफ्नै बाटो लाग, र तिमीले विश्राम पाउनेछौ । दिनहरूका अन्तमा तिमीलाई दिइएको ठाउँमा तिमी खडा हुनेछौ ।”

< दानिएल 12 >