< १ शमूएल 16 >

1 परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मैले शाऊललाई इस्राएलको राजा हुनबाट इन्कार गरेको कारणले तँ उसको निम्ति कहिलेसम्म विलाप गर्नेछस्? तेरो सीङ्‌मा तेल भर् र जा । म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउनेछु, किनकि मैले त्यसका छोराहरूका बिचबाट एक जनालाई मेरो निम्ति राजा चुनेको छु ।” 2 शमूएलले सोधे, “म कसरी जान सक्‍छु? शाऊलले यो सुने भने, उसले मलाई मार्नेछ ।” परमप्रभुले भन्‍नुभयो, “तँसँगै एउटा कोरली लैजा र भन्, 'म परमप्रभुलाई बलिदान चढाउन आएको छु ।' 3 यिशैलाई पनि बलिदानमा बोला र तैंले के गर्नुपर्नेछ म तँलाई देखाउनेछु । मैले तँलाई देखाएको एक जनालाई तैंले अभिषेक गर्नेछस् ।” 4 शमूएलले परमप्रभुले भन्‍नुभएझैं गरे र बेथलेहेम गए । सहरका धर्म-गुरुहरू तिनलाई भेट्न आउँदा तिनीहरू डरले कामिरहेका थिए र भने, “के तपाईं शान्तिमा नै आउँदै हुनुहुन्छ?” 5 तिनले भने, “शान्तिमा नै हो । म परमप्रभुलाई बिलदान चढाउन आएको छु । आफैलाई अलग गर्न तयार होओ र मसँगै बलिदानमा आओ ।” तिनले यिशै र तिनका छोराहरूलाई अलग गरे र तिनीहरूलाई बलिदानमा निमन्त्रणा गरे । 6 जब तिनीहरू आए, तिनले एलीआबलाई हेरे र मनमनै भने परमप्रभुको अभिषिक्‍त जन निश्‍चय नै तिनको सामु उभिरहेका थिए । 7 तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्यसको बाह्य स्वरूप वा त्यसको कदको उचाइलाई नहेर्, किनभने मैले त्यसलाई इन्कार गरेको छु । किनभने परमप्रभुले मानिसले झैं हे्र्नुहुन्‍न । मानिसले बाहिरी स्वरूपलाई हेर्छ, तर परमप्रभुले हृदयलाई हेर्नुहुन्छ ।” 8 यिशैले अबीनादाबलाई बोलाए र शमूएलको सामुन्‍ने हिंड्न लगाए । तब शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन ।” 9 यिशैले शम्मालाई नि हिंड्न लगाए, तर शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन ।” 10 यिशैले तिनका सातै जना छोराहरूलाई शमूएलको सामु हिंड्न लगाए । शमूएलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू कुनैलाई पनि चुन्‍नुभएको छैन ।” 11 तब शमूएलले यिशैलाई भने, “के तपाईंका छोराहरू सबै जना यहाँ नै छन्?” तिनले जवाफ दिए, “अझै कान्छो बाँकी नै छ, तर उसले भेडाको गोठाला गरिरहेको छ ।” शमूएलले यिशैलाई भने, “कसैलाई पठाउनुहोस् र तिनलाई झिकाउनुहोस् । तिनी यहाँ नआएसम्म, हामी बस्‍नेछैनौं ।” 12 यिशैले कसैलाई पठाए र तिनलाई ल्याए । यो छोराको राता गाला, सुन्दर आँखा र सुन्दर स्वरूप थियो । परमप्रभुले भन्‍नुभयो, “उठ्, त्यसलाई अभिषेक गर् । किनभने यही नै हो ।” 13 अनि शमूएलले तेल भएको सीङ् लिए र तिनलाई आफ्‍ना दाजुहरूका माझमा अभिषेक गरे । त्यस दिनदेखि परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो । त्यसपछि शमूएल उठे र रामातिर गए । 14 परमप्रभुको आत्माले शाऊललाई छोड्नुभयो र परमप्रभुको हानिकारक आत्माले तिनलाई दुःख दियो । 15 शाऊलका सेवकहरूले तिनलाई भने, “हे्र्नुहोस्, परमप्रभुको हानिकारक आत्माले तपाईंलाई दुःख दिन्छ । 16 तपाईंको सामु भएका सेवकहरूलाई कोही वीणा बजाउन निपुण व्यक्‍तिलाई खोज्‍न हाम्रो मालिकले आज्ञा गर्नुहोस् । जब परमप्रभुको हानिकारक आत्मा तपाईंमाथि आउँछ, त्यसले वीणा बजाउनेछ, र तपाईं ठीक हुनुहुनेछ ।” 17 शाऊलले तिनका सेवकहरूलाई भने, “बजाउन निपुण एक जना मानिस मेरो निम्ति खोज र त्यसलाई मकहाँ ल्याऊ ।” 18 जवानहरूमध्ये एक जनाले जवाफ दिए, “मैले बेथलेहमका यिशैका छोरा बजाउनमा निपुण, बलियो, साहसी, लडाकु, बोलीवचनमा चतुर, सुन्‍दर मानिस देखेको छु । अनि परमप्रभु तिनीसँग हुनुहुन्छ ।” 19 त्यसैले शाऊलले यिशैकहाँ दूतहरू पठाए र भने, “भेडाहरूसँग भएको तिम्रो छोरा दाऊदलाई मकहाँ पठाऊ ।” 20 यिशैले रोटी, दाखमद्यको भाँडो, एउटा पाठोलाई गधामा बोकाए र आफ्‍नो छोरा दाऊदसँगै ती शाऊलकहाँ पठाए । 21 तब दाऊद शाऊलकहाँ आए र तिनको सेवामा प्रवेश गरे । शाऊलले तिनलाई धेरै प्रेम गरे र तिनी उनको हतियार बोक्‍ने बने । 22 “दाऊद मेरो सामु खडा रहोस्, किनभने उसले मेरो दृष्‍टिमा निगाह पाएको छ” भन्‍ने सामाचार शाऊलले यिशैलाई पठाए । 23 जब-जब शाऊलमाथि परमेश्‍वरको हानिकारक आत्मा आउँथ्यो, दाऊदले वीणा लिन्थे र त्‍यो बजाउँथे । यसरी शाऊल पुनः ताजा र सञ्‍चो हुन्थे, र हानिकारक आत्माले तिनीलाई छोड्‍थ्‍यो।

< १ शमूएल 16 >